arrow

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
buspark-dashain.jpg

काभ्रेपलाञ्चोक । नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ ।

 स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालासँगको छलफलले चाडपर्वलाई ‘सुरक्षित’ बनाउन तदारुकता देखाएका हुन् ।

चाडपर्वलक्षित सुरक्षा योजना तथा ट्राफिक व्यवस्थापनलगायतका विषयमा सर्वपक्षीय छलफल गरी शान्ति–सुरक्षा, आवश्यक उपभोग्य वस्तुको आपूर्ति र बिक्री–वितरण सहज बनाउने, कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र सवारी आवागमन सुरक्षित बनाउन स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा समितिसँग सहकार्य, समन्वय र सूचना आदान–प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । 

बैठकमा स्थानीय जनप्रतिनिधिले नागरिकलाई सुरक्षित राख्ने प्रतिबद्धतासमेत जनाएका छन् । साथै उनीहरूले अन्य समयमा ज्येष्ठ नागरिक, विद्यार्थीका लागि सार्वजनिक यातायातमा हुँदै आएको सहुलियत चाडपर्वको बेलामा पनि हुनुपर्ने बताएका छन् ।

प्रजिअ शर्माका अनुसार बैठकले एकीकृतरूपमा बजार अनुगमन गर्ने, विद्युत्, टेलिफोन, इन्टरनेट, स्वास्थ्य सेवा, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवा नियमित राख्ने, तीनै तहका सरकारको समन्वयमा सडक सहज बनाउन अवरोध हटाउने, खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षाबारे अभिमुखीकरणका साथै ट्राफिक सप्ताह सञ्चालन गर्ने, चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गर्ने र प्रचलित भाडादर टाँस्नेलगायत निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ