arrow

देशमा शोक, काभ्रेपलाञ्चोकमा हर्षोल्लास

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० असोज २३ मंगलबार
kavre-nagar-2080-06-23.jpg

काभ्रेपलाञ्चोक । अध्ययनको क्रममा इजरेलमा रहेका १० नेपाली विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु हुँदा देशमा मंगलबार राष्ट्रिय शोकको घोषणा गरिएको भए पनि बनेपा नगरपालिकाकाले हर्षोल्लासका साथ कार्यक्रम गरेको छ । 

संघीय सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने तथा आधा झण्डा झुकाउने निर्णयसमेत गरेको थियो । काठमाडौं विश्वविद्यालयको एक कार्यक्रममा आउने तयारी गरेका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोककुमार राईले समेत मुलुक शोकमा रहेका कारण औपचारिक कार्यक्रम स्थगित गरेका थिए । तर मुलुक नै शोकमा रहेको बेला बनेपा नगरपालिकाले भने हर्षोल्लासका साथ कार्यक्रम गरेको छ ।

बनेपा नगरभित्रका सहकारी संस्थाको अनुगमन प्रतिवेदन बुझाउने कार्यक्रम उसले तामझामका साथ गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्व र संस्थालाई टिका, खादा, सम्मानपत्र सहित सम्मान गरिएको हो ।

जिल्ला सहकारी संघ काभ्रेले अनुगमनको ठेक्का पाएको थियो । प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा नै अनुगमनको क्रममा उल्लेखनीय सहयोग गर्ने संघसंस्था र व्यक्ति भन्दै सम्मान गरिएको हो । छानबिन गर्ने निकायले छानबिनमा सघाउनेलाई सम्मान गरेको सम्भवतः यो पहिलो घटना हो ।

नगर प्रमुख शान्तिरत्न शाक्यले सार्वजनिक बिदा नभएकाले कार्यक्रम आयोजना गरिएको बताए । ‘सार्वजनिक बिदा होइन भन्यो त्यसकारणले कार्यक्रम गरेका हौँ’, उनले भने, ‘बिदा होइन, शोक मात्रै हो भनेकाले कार्यक्रम गर्यौं, गर्न मिल्ने हो कि होइन थाहा भएन तर कार्यक्रम चाहिँ भयो ।’

कार्यक्रमका प्रमुख अतिथि बोलाइएका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले सहकारी सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न भनेर बोलाइएको कार्यक्रममा सम्मान पनि गरिएको प्रतिकृया दिए । 

‘सहकारीको प्रतिवेदन सार्वजनिक गर्न भनेर बोलाइएको थियो, पछि त्यहाँ सम्मान लगायतका औपचारिक कार्यक्रम पनि रहेछ,’ प्रमुख गौतमले टेलिफोनमा भने, ‘मुलुक शोकमा भएको बेला यस्तो कार्यक्रम नगर्दा निकै राम्रो हुन्थ्यो, कार्यक्रम गर्ने भनेर मलाई बोलाइसकेपछि मैले शोक छ, सम्मान गर्दिन भन्न सकिन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ