arrow

विकास र नागरिकको सेवामा सदैव लागिरहन्छु : कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
Bodh Bahadur Karki.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडाको विकास र नागरिकको सेवामा आफू सदैव लागिरहने प्रतिवद्धता जनाएका छन् । 

वडा कार्यालयले पहिलो पटक आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष कार्कीले यस्तो प्रतिवद्धता जनाएका हुन् । विकास निर्माणमा आफूले सकेको समय दिएर सकेसम्म सबै क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरिएको उनले बताए । 

वडाध्यक्ष कार्कीले वडाबाट प्रदान हुने सेवा अत्यन्तै सहज ढंगबाट प्रवाह भएको दावी गरे । ‘म वडाध्यक्ष चुनिएर आएदेखि वडाले दिने सेवाप्रति कुनै पनि नागरिककले गुनासो गर्नुपरेको छैन’, उनले भने ।

उनले आफू वडाध्यक्ष चुनिएर आएसँगै नागरिकका प्रत्येक समस्या समाधानका लागि प्रयास गरेको दावी गरे । उनले वडाको विकासमा जनसहभागिताबाट मात्रै तीन करोड १५ लाख रुपैयाँ खर्च हुनु निकै प्रशंसनीय कार्य भएको बताए । 

उनका अनुसार वडाभित्रको विकास निर्माणमा पोखरा महानगर, संघ र प्रदेश सरकारबाट २० करोड १७ लाख ४८ हजार रुपैयाँ विनियोजन भएको थियो । 

कार्यक्रममा सहभागी वडावासीले छाडा चौपाया, छाडा कुकुर, फोहोर व्यवस्थापन, सडक मर्मत र विस्तार, कृषि क्षेत्रको प्रवर्द्धन, शिक्षा, खेलकुद, स्वास्थ्य, नागरिकको सुरक्षा, राजस्व, अव्यवस्थित बसोबासी लगायतका विषयमा गुनासो गरेका थिए । 
वडावासीले पछिल्लो समय वडा कार्यालयले चुस्त सेवा प्रवाह गरेको भन्दै जनप्रतिनिधिको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका वडा सभापति दिवस कुँवर, माओवादी केन्द्रका खड्क बहादुर विक, नेकपा एकीकृत समाजवादीकी उमा थापा, रास्वपाका राजन भण्डारीका साथै वडावासी मीनाश्री, लक्ष्मण कार्की, रामजी जिसी, तारानाथ तिवारी, शुकमाया गुरुङ, सुमित्रा अधिकारी घिमिरे, रमेश त्रिपाठी, शेरबहादुर राना, जगन्नाथ तिमिल्सिना, शीला थापा, चिजबहादुर गुरुङ, गजेन्द्र गुरुङ लगायतले जिज्ञासा राखेका थिए । 

वडा कार्यालयका अनुसार पोखरा महानगरपालिका अन्तर्गत वडा नं. १४ क्षेत्रफलको हिसावले दोस्रो ठूलो वडा हो । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार कूल १३.३६ वर्गकिमिमा फैलिएको वडामा तीन हजार पाँचसय ६१ जना नागरिक बसोबास गर्दछन् । 

यस वडामा ८० टोल विकास संस्था र ४५ वठा आमा समूह र १० वटा क्लव सक्रिय छन् । वडामा एक हजार २४ जना विभिन्न सामाजिक सुरक्षाकोषमा आवद्ध छन् । 

गत आर्थिक वर्षमा यस वडामा एक सय ७२ वटा घर निर्माण सम्पन्न भएका छन् । यस वडाले अघिल्लो आर्थिक वर्षमा तीनछ करोड ४१ लाख ८९ हजार ३९२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वडा भित्रको विकास निर्माणका लागि छ करोड ६५ लाख ४८ हजार रुपैयाँ विनियोजन भएकोमा छ करोड ३९ लाख ८६ हजार रुपैयाँ खर्च भएको वडाको तथ्याङ्क छ । 

यसैगरी वडाभित्रको विकास निर्माणमा पोखरा महानगर, संघ र प्रदेश सरकारबाट २० करोड १७ लाख ४८ हजार रुपैयाँ विनियोजना भएको थियो भने जनसहभागिताबाट तीन करोड १५ लाख रुपैयाँ संकलन भएको वडा कार्यालयले जनाएको छ । 

यस्तै, गत आर्थिक वर्षमा वडाको भौतिक प्रगतिमा ११ किमि ५ सय मिटर सडक ढलान, १० किमि सडक रंग रोगन र ४७ वटा भवन निर्माण तथा मर्मत भएको बताइन्छ ।

वडाको समष्टिगत प्रगति विवरण हेर्दा २८ लाखबाट १७ वटा ऐतिहासिक चौतारी निर्माण भएका छन् । ऐतिहासिक दाहसंस्कार घाट निर्माणमा १५ लाख, अध्यक्षसँग योग कार्यक्रम १० ठाउँमा निःशुल्क चलिरहेको छ ।

यस्तै, गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँको लागतमा छ किमि नाला निर्माण, वडा मेलमिलाप केन्द्रबाट ८५० मुद्धा छलफल र मिलान, वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको बताइन्छ । 

यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम वडाभरि प्रभावकारीरुपमा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । एक वर्षमा अस्थायी र स्थायी गरि ५१ जनालाई रोजगार प्रदान, विपन्न वस्ती तथा सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा प्रदान गरिनुका साथै करिब छ सय जनालाई निःशुल्क तालिम प्रदान गरिएको छ । 

कार्यालयको काम कार्वाही चुस्त दुरुस्त पारि ढिला सुस्ती नगरि सेवाग्राहीलाई सहजरुपमा सेवा प्रदान गरिएको वडासचिव रामचन्द्र पौडेल बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ