यसरी भन्न थालियो देउसीरे, प्रसंङ्ग पौराणिक नै

प्रकाशित मिति : २०७३ कार्तिक १४ आइतबार
काठमाडौं। देउसी भैलीको कुरा गर्दा आज भन्दा ७ हजार वर्ष पहिले लंका जितेर श्रीराम आफ्नो जन्मभूमि फर्किँदा दीपावलसँगै देउसी गीत गाईएको थियो भन्ने धार्मिक विश्वास छ। अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए। 
 
कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्री दियाहरुको उज्यालोले जगमगाएको थियो। त्यहाँका प्रजाहरुले घर-घरमा, गल्ली-गल्लीमा ‘देव श्रीराम’को नारा लाउँदै घुमेका थिए। देव श्रीरामबाट अप्रभंश हुँदै देउसिरी राम, देउसिरे हुँदै देउसी भएको अनुमान गरिन्छ। सोही परम्परालाई मान्दै आजपनि नेपाली समुदाय देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।
 
देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ। जहाँ एक जना बली भन्ने दानव राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादी लोकहरु हल्लिन थाले र देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलीलाई दमन गरी पाताल पुर्‍याउने आश्वासन दिए। 
 
त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलीलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेका थिए। वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो शिर दिए, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे। अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट बेला पृथ्वी घुम्ने अवसर दिइयोस् । उनको अनुरोध स्वीकार गरी विष्णुले कात्तिकको औंशीका दिन पृथ्वीमा आउन अनुमति दिएका थिए। त्यस पश्चात् बलि राजाको नामबाट देउसी खेल्ने प्रचलन सुरु भएको धार्मिक विश्वास रहेको छ। यहाँ राजा बलीले बिष्णुलाई तेस्रो पाउ राख्नका लागि शिर दिएको प्रसङगलाई पनि दिए शिर भनेर प्रख्यात भयो । तेस्रो पाउ राख्न शिर दिएर आफ्नो सारा सम्पती र राज्य गुमाएर पातालमा जानुपरेको त्यो प्रसङगलाई बलीले दिएसिर भनेर पनि पुकारिन थालियो। माग्न आउनेलाई सबै दिदा पनि नपुगेर आफ्नो शिर नै दिएको प्रसङगलाई दिए शिरको प्रसङगबाट स्मरण गर्ने क्रममा अप्रभंश हुँदै देउसिरे भएको मान्यता पनि छ। 
 
पाताल जान वाध्य भएका बलीको प्रार्थनालाई स्वीकारेर बलीलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बली यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलीको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरु बली राजा आउन नभ्याएको र उनीहरुलाई बलीले पठाएको भनी देउसी भट्याउनेले गर्छन्। स्त्रीहरुले पनि बलिको स्वागतमा बली गीत गाउन थाले जुन पछि संस्कृतीको रुपमा भैली गीतको रुपमा गाउन थालियो। देउसी भैली खेल्न जानेहरुलाई घरघरमा दान दक्षिणा दिएर पठाउने चलन रहेको छ। 
नयाँ