arrow

लाओसविरुद्ध विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, बिहीबार साँझ दशरथ रंगशालामा भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
nepali-football-team-2080-06-24.jpeg

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफ्नो लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् । 

विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले भोलि लाओससँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ः३० बजे हुनेछ । 
    
होम एण्ड अवेका आधारमा हुने उक्त छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफ्नो टोलीले राम्रो अभ्यास गरेको बताए । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ छन् । 
    
मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ