arrow

एमालेको मधेसमा पनि सर्वसम्मत नहुने संकेत, रघुवीर र लिलानाथबीच होडबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
raghubir-lilanath-shrestha.jpg

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेश अध्यक्षमा बनाउन केन्द्रीय सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठबीच अघोषित होडबाजी चलेको छ । 

श्रेष्ठले सिरहाका चन्देश्वर मण्डललाई सर्वसम्मति गराउने प्रयास शुरु गरेपछि सचिव महासेठले धनुषाका तीन जना लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादवमध्ये एकलाई अघि सारेर बार्गेनिङ शुरु गरेका हुन् । 

श्रेष्ठ मधेस प्रदेशका सहइन्चार्ज हुन् । इन्चार्ज योगेश भट्टराईले जनताको बहुदलीय जनवादमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सबै जना गोलबद्ध छौँ भने तल तल विवाद झिक्नु हुँदैन भन्दै सम्झाउने प्रयास गरे पनि महासेठ र श्रेष्ठ समूह बेग्ला बेग्लै समूह खडा गरेर सर्वसम्मत नगर्ने तहमा पुगेका छन् । 

श्रेष्ठले अघि सारेका मण्डल नेकपा एमाले सिरहाका पूर्व अध्यक्ष हुन् । उनले लामो समय एमालेमा बिताएका छन् । उनलाई अध्यक्ष बनाउन नेकपा एमाले प्रदेश सह–इन्चार्ज श्रेष्ठले लबिङ गरिरहेको स्रोतले जनाएको छ । 

एमाले मधेस प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी थिए । तर एमाले अध्यक्ष ओलीले कोही कसैलाई पनि संकेत नगरी काठमाडौँ फर्केपछि सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल लगायतका धेरै आकांक्षी पछि हट्ने भएका छन् । 

धनुषाबाट आएको सूचना अनुसार धनुषाकै तीन जना लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव र सिरहाका चन्देश्वर मण्डल प्रदेश अध्यक्षका लागि दावी नछाड्ने मुडमा देखिएका छन् । 

उनका अनुसार प्रदेशमा मुख्यतः पार्टीभित्र दुई नेता रघुविर महासेठ र रामसरोज यादव लिलानाथ श्रेष्ठ समूह खडा भएका छन् । 

धनुषामा शिवशंकर महासेठ समूहका अध्यक्ष दावेदार हुन् । लक्ष्मीनारायण सरोज समूहका छन् । त्यस्तै श्रेष्ठले मण्डललाई बोकेका छन् । राजकिशोर पार्टीका धनुषा अध्यक्ष छन् तर उनी पनि अध्यक्षको दौडमा उभ्याएका छन् । 

बुधबार जनकपुरधाममा सम्बोधनका लागि पुगेका पार्टी अध्यक्ष ओलीले मधेश प्रदेशमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ