arrow

प्रचण्ड सरकार बनेको ३ महिना बित्यो तर मुलुकले केही पाएन : ओली

ओलीले फेरि सरकार चलाउने संकेत : 'अहिले गियर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र गाडी अघि बढाउँछाैँ'

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
oli-voice-lokman-new.jpeg

भक्तपुर । एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकार गठनपछिको तीन महिनामा कुनै उपलब्धि नभएको र त्यतिकै गुज्रिएको बताएका छन् ।

ओलीले आइतबार भक्तपुरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछिको तीन महिनामा मुलुकले कुनै उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, ‘मेरो नेतृत्वको सरकारले अनेकौ चुनौतीबा बाबजूद  मुलुकलाई विकासको बाटोमा अघि बढाउन प्रयत्न गरेको हो । अहिलेको सरकारसँग त्यस्तो कुनै योजना छैन । हामीले बनाएका योजनाको पनि कार्यान्वयनको पहल भएको छैन  । अहिले तीन महिना वितिसक्यो के भयो त खै ? ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अाेलीले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए । नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उनले भने, 'अहिले गियर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछाैँ, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।”

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै अाेलीले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

केही दिन अघि ललितपुरमा आयोजित कार्यक्रममा ओलीले हरियो घाँस देखाउने वित्तिकै सरकार आफै ढल्ने बताउँदै मुलुकले निकास र विकास पाउन एमाले नेतृत्वकै सरकार चाहिने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ