ओलीले भने–‘कसैले कसैलाई दुःख दिने र हेला गर्ने काम नगर्नुहोला, ॐ शान्ति’
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
1.1k
Shares
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैले देश, जनता, मानवजातिको हित र विश्वशान्तिका लागि काम गर्नुपर्ने बताएका छन् ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, तीनकुनेले गरेको लक्ष्मीपूजा, ज्येष्ठ नागरिक सम्मान तथा प्रवचन कार्यक्रममा ओलीले भने, ‘मानिसमा देखिएको स्वार्थ, अहङ्कार र थिचोमिचो गर्ने प्रवृत्तिले मानव समाजलाई अप्ठ्यारो र कुरुप बनाएको छ, मानवले मात्र भगवान्को अस्तित्व जोगाउन सक्छ, त्यही मान्छेले नै धर्तीलाई विकृत तुल्याएको छ, आफूलाई भए पुग्यो अरुलाई जेसुकै होस् भन्ने प्रवृत्ति, अहङ्कार र जिद्दीले मान्छेलाई विकृत तुल्याएको छ ।’
कुलत, कुबाटो, दुव्र्यसन र नराम्रो गतिविधि त्याग्न ब्रम्ह्कुमारी राजयोगजस्ता सामाजिक संस्थाबाट प्रदान गर्ने ज्ञानलाई बोझिलो रुपमा होइन, सजिलो ढङ्गबाट लिन आग्रह गर्दै ओलीले भने, ‘कसैले कसैलाई पनि दुःख दिने, हेला गर्ने काम नगर्नुहोला, ॐ शान्ति ।’
सो अवसरमा ७५ वर्ष उमेर पार गरेका त्यस क्षेत्रका १३ ज्येष्ठ नागरिक सम्मानित भए । समारोहमा त्यस क्षेत्रमा बसोवास गर्ने पूर्वमन्त्रीद्वय अग्निप्रसाद खरेल र छविराज पन्त तथा एकीकृत उपभोक्ता मञ्च तीनकुनेका अध्यक्ष मदन सिवाकोटी र वाद्यवादक निरञ्जन भण्डारीलाई सम्मान गरियो ।