काठमाडौं। बडा दशैंमा सुनसान जस्तै हुने काठमाडौं उपत्यका दोस्रो महान् चाड तिहारिले रंगिचंगी भएको छ। बजार, चोच, छरछिमेकमा फूल र बत्तिको रंगिचंगी मात्रै होइन सांस्कृतिक र पौराणिक मान्यता बोकेको देउसी भैंलोले पनि गुञ्जयमान बनेको छ उपत्यका।
तिहार सन्देश बहाक पंक्षी कागबाट सुरु हुँदै दिदी–भाईको भेटमा आएर सकिन्छ। पाँच दिन सम्म उल्लासका साथ मनाइने तिहार पौराणिक, धार्मिक र साँस्कृतिक मूल्य मान्यतासँगै जीव, देव र धन तथा मनसँग जोडिएको पाइन्छ।
यस्तै, तिहारको अर्को आकर्षण र रिती देउसी भैलो पनि हो। देउसी भैंलोको कुरा गर्दा आज भन्दा ७ हजार वर्ष पहिले लंका जितेर श्रीराम आफ्नो जन्मभूमि फर्किँदा दीपावलसँगै देउसी गीत गाईएको थियो भन्ने धार्मिक विश्वास छ। अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्रीरामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए।
कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्री दियाहरुको उज्यालोले जगमगाएको थियो। त्यहाँका प्रजाहरुले घर–घरमा, गल्ली–गल्लीमा ‘देव श्रीराम’को नारा लाउँदै घुमेका थिए । देव श्रीरामबाट अप्रभंश हुँदै देउसिरी राम, देउसिरे हुँदै देउसी भएको अनुमान गरिन्छ।