Skip

भारतीय राष्ट्रपतिको भ्रमण : हतारमा यसरी झुण्ड्याइयो झण्डा

राष्ट्रपति आउनु कैले-कैले, झण्डा राखियो पहिले

प्रकाशित मिति : २०७३ कार्तिक १४ आइतबार
तस्बिर : हाम्राकुरा

काठमाडौं। सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न तीन दिने राजकीय भ्रमणको तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले शनिबार मात्रै राष्ट्रपति मुखर्जीको स्वागतदेखि दैनिक भ्रमण कार्यक्रमबारेमा औपचारिक जानकारी गराएकामा आइतबार मुखर्जी सवार हुने काठमाडौंका सडकमा झण्डा झुण्ड्याउने काम भएको छ।

यद्यपि, सरसफाइ चलिरहेकैबेला सरकारले झण्डा लगाउने हतारो गरेको भन्दै आलोचना समेत सुरु भएको छ। राष्ट्रपति मुखर्जी आउने दिन सार्वजनिक विदा दिएको आलोचना सेलाउन नपाउँदै सरकारी हतारोको अर्को आलोचना सुरु भएको छ। शनिबार मुखर्जीले भ्रमण गर्ने जनकपुरको तयारी हेरेर गृहमन्त्री विमलेन्द्र निधि आफैले तयारीप्रति असन्तुष्टी जनाएका थिए । उपत्यकामा अहिले महानगरले बाटोमा जताततै टाँसेका पम्पलेट र पोष्टर निकाल्ने र सफा गर्ने काम गरिरहेको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक भ्रमण कार्तिक १७, १८ र १९ तीन दिन हुने तालिका सार्वजनिक भइसकेको छ। भारतीय राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर औपचारिक स्वागत गर्ने कार्यक्रम छ।

मुखर्जी काठमाडौंको पशुपति नाथसहित, जनकपुरको रामजानकी मन्दिर, पोखरा भ्रमणमा समेत जानेछन् । १८ वर्षपछि नेपाल टेक्ने भारतीय राष्ट्रपति रहनेछन् । सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायणन् नेपाल भ्रमणमा आएका थिए।

नयाँ