arrow

कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम पुर्पक्षका लागि थुनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
krishnabahadur-mahara-rahul-mahara-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इलेक्ट्रोनिक सिगरेट (भेप) मार्फत सुन तस्करीलाई सहयोग गरेको आरोप लागेका माओवादी केन्द्रउपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । 

सुन तस्करीमा संलग्न रहेका दाओजिन वाङसँग एक सय ४७ पटक सम्पर्क भएको देखिएको र सरकारी कर्मचारीलाई प्रभावमा पारेर तस्करीलाई सहयोग गरेको भन्दै उनीमाथि अदालतमा मुद्धा दायर भएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको बताएका छन् । 

‘राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ,’ सूचना अधिकारी दाहालले भने ।  

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयलाई राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सीआईबीको सिफारिसअनुसार सरकारी वकिल कार्यालय काठमाडौँले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय दिएको हो । 

भियना होटलका मालिक दावा छिरिङ भने हाल राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणमा समेत संलग्न रहेकाले पुर्पक्षका लागि थुनामा छन् । 

सीआईबीले भेप प्रकरणमा एक जनालाई फरार सूचीमा राखेको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो कायम गर्न पनि सीआईबीले सुझाएको छ । 

२०७९ पुस १० मा दुबईबाट दाओजिन र अर्का एक चिनियाँ नागरिक ली हाङसोङको योजनामा भेपमा लुकाएर ल्याइएको ९ किलो सुन भेटिएको थियो ।

राहुल महरासँगै तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङका सवारीचालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रूपैयाँ बिगो कायम गरिएको छ । 

भेपका रूपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि तत्कालीन समयमा विमानस्थल भन्सार कार्यालयले होल्ड गरेको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । 

महरा बाबुछोराले दाओजिन वाङबाहेक दुई सय ५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेको यसअघि सीआईबीको प्रतिवेदनमा उल्लेख थियो । गत असार २७ मुद्दा दायर भए पनि महराका बाबुछोरालाई उन्मुक्ति दिइएको थियो ।

सरकारी वकिल कार्यालयले राहुलविरुद्ध काठमाडौं जिल्ला अदालमा तीन ओटा अभियोगमा मुद्दा दायर गरेको थियो । सीआईबीको अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग लगाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ