कार्तिकभित्र संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं : शरतसिंह भण्डारी
एमाले अन्त्यमा लम्पसार पर्छ
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
838
Shares
काठमाडौं । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कार्तिकभित्र पनि संविधान संशोधन नभए मोर्चाले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘यो महिनाभित्रै संविधान संशोधन हुनैपर्छ, भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं र सशक्त आन्दोलनमा होमिन्छौं ।’
रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुरा गर्दै नेता भण्डारीले संविधान संशोधन नभए मुलुक राजनीतिक दुर्घटनामा पर्ने खतरा औंल्याए । उनले अघि भने,‘संविधान संशोधन भएन भने मुलुक दुर्घटनामा जान्छ, यसको सबैभन्दा ठूलो प्रभाव ठूला पार्टीहरु काँग्रेस, एमाले र माओवादी केन्द्र लाई पर्छ ।’
अध्यक्ष भण्डारीले मोर्चाले अहिलेसम्म सरकारलाई संविधान संशोधनको लागि कुनै समयसिमा नतोकेको उल्लेख गर्दै भने,‘हामीले समयसिमा तोकेका छैनौं, बरु प्रधानमन्त्री स्वयमले आँफै समयसिमा तोक्नु भएको छ, तर जे भएपनि उहाँहरुको लागि यो अन्तिम अवसर हो ।’
उनले पछिल्लो समय सत्तारुढ दल र मेधशी मोर्चावीच वार्ता हुनु नै फलदायी भएको टिप्पणी गरे । उनले अघि थपे,‘वास्तवमा भन्ने हो भने वार्ता हुनु नै उपलब्धि हो, आइतबार बालुवाटारको बैठकमा गठबन्धनका नेताहरु सबै उपस्थिति हुनुहुन्थ्यो, उता काँग्रेस र नेकपा माओवादी केन्द्र र राप्रपाका शीर्ष नेताहरु पनि हुनुहुन्थ्यो ।’
प्रधानमन्त्रीले आफूले सहमतिको लागि प्रयास गरिरहेको आफूहरुसँग बताएको उल्लेख गर्दै अध्यक्ष भण्डारीले भने,‘यो मुलुकमा तीनवटा मुख्य आईडेन्टिज भएका पक्ष छन्, एउटा खस आर्य, मधेशी, र अर्को आदिवासी जनजाति, हाम्रो संघीय गठबन्धनमा यी सबै पक्ष समेटिएको छन ।’
मोर्चाका तर्फबाट आफूहरुले जतिसक्दो चाँडो संविधान संशोधनको प्रस्ताव ल्याउन सत्ता पक्षलाई आग्रह गरेको समेत उनले जनाए ।
गठबन्धनले उठाएका प्रदेशको सिमांकन, भाषा, नागरिकता, राष्ट्रिय सभाको विषयमा प्रधानमन्त्री सकारात्मक रहेको आफूहरुले पाएको उनको जिकिर छ । भण्डारीले अघि भने, ‘यो विषयमा प्रधानमन्त्री, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, राप्रपाका अध्यक्ष सबै सहमत हुनुहुन्छ, प्रधानमन्त्रीले राखेका कुरामा देउवाजीले पनि सहमति जनाउनु भएको छ ।’
प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच बनेको गठबन्धनले मुलुकको समस्या समाधान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको भण्डारीको भनाई छ । भण्डारीले भने,‘यी दुई महत्ववपूर्ण घटक हुन्, सबै कुराको टुँगो लगाउने नैतिक जिम्मेवार यी दुई पार्टीको हो, मधेश आन्दोलन, लगायत विभिन्न आन्दोलनबाट उठेका प्रश्न र जायज मुद्दालाई दुई पार्टीले सल्टाउनुपर्छ ।’
संविधान संशोधन नभए संविधान कार्यान्वयनमै असर पर्ने भएकोले पहिला संविधान संशोधनमा प्रमुख दलहरुले ध्यान दिनुपर्ने उनको धारणा थियो । उनले भने,‘ यदि यी तीन दलले गर्न सकेनन भने अन्र्तराष्टिय क्षेत्रमा तीन दलको छवि समाप्त हुन्छ ।’
भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन गर्न नहुने भनेर नभनेकोले एमालेले पनि संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले थपे,‘‘हिजो एमालेलाई सत्ता छोड्दाको पिडा थियो होला, तर आज आएर एमालेका नेताहरुले संविधान संशोधनको लागि आफ्नो पार्टी विरोधी नहुने बताएका छन्, त्यसैले अन्तिम अवस्थासम्म पनि एमालेका अडिने योजना छन, अन्त्यमा लम्पसार पर्छ ।’
मधेशी मोर्चाले उठाएका मुद्दा मधेशको मात्रै नभएर राष्ट्रिय मुद्दा भएकोले सबै समस्याहरको एकमुष्ट समाधान हुनुपर्ने भण्डारीको माग थियो ।