arrow

विश्वकप छनोटः लाओसविरुद्ध जितको निर्विकल्प लिएर मैदानमा उत्रदै नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
nepal-lawos-2080-06-30.jpg
तस्बिर – एनएसजेएफ ।

काठमाडौँ । विश्वकप फुटबलको एसिया छनोटमा नेपालले लाओसविरुद्ध आज खेल्दैछ । नेपालले उसकै भूमिमा दोस्रो लेगको खेल खेल्न लागेको हो । 

वियनतियानेस्थित लाओसको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे शुरू हुनेछ । नेपाली टिम कुनै पनि हालतमा जितको लागि खेल्नेछ । 

काठमाडौँको दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

घरेलु मैदानमा बराबरीमा चित्त बुझाएकाले नेपाल आजको खेलमा निकै दबाबमा हुनेछ । यो खेलमा अनुकूल परिणाम नआउँदा छनोटबाट बाहिरिने भएकाले हरहालतमा नेपालले आफूभन्दा कम वरीयताको टिमलाई हराउनै पर्ने हुन्छ । 

पहिलो लेगमा बौनफाचन बोनकोन्गले खेलको ३३ औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको तेस्रो मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काएका थिए ।

अञ्जनको यो राष्ट्रिय टिमबाट कीर्तिमानी बराबरी १३ औँ गोल थियो । यसअघि हरि खड्का र निराजन रायमाझीले यो कीर्तिमान राखेका छन् । आजको खेलमा गोल गर्दा अञ्जन सर्वाधिक गोलकर्ता हुनेछन् । 

आजको खेलमा जित हासिल गर्दा नेपाल समूह एचमा रहेका बहराईन र युएई तथा यमन र श्रीलंकाबीचको बिजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् ।

नेपाल अहिलेसम्म लाओससँग हारेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ