arrow

चाडपर्वमा बढ्यो डडेल्धुरामा सवारीसाधनको चाप 

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० असोज ३० मंगलबार
dadeldhura-buspark-2080-06-30.jpg

डडेल्धुरा । दशैँतिहार लगायतका चाडपर्व नजिकिएसँगै डडेल्धुरामा सवारीसाधनको चाप बढेको छ । जसका कारण ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।

डडेल्धुरामा मात्रै ४८ ओटा ई–रिक्साहरु सञ्चालनमा छन् । तर अब्यवस्थित रुपमा सञ्चालित ई–रिक्साहरुका कारण झनै ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ । 

बजारक्षेत्रमा अब्यवस्थित पार्किङ, सडक पेटी नहुनु, पछिल्लो समय ई–रिक्साको संख्या बढ्नु, छाडा पशुचौपाया र दरबन्दी अनुसार ट्राफिकको अभावका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको हो ।

डडेल्धुरा जिल्लामा जम्मा १५ जनाको ट्राफिक प्रहरीको दरबन्दी भए पनि अहिले सात जनाले मात्र जिल्लाको ट्राफिक व्यवस्थापन गरिरहेका छन् । रिक्सा र छाडा पशुचौपायाका कारण पनि ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको चालक हेमराज भट्टले बताए ।

अहिले डडेल्धुराको स्याउले चोक लगायत जोगबुढा र सकायल गरि तीन ठाँउमा अहिले ट्राफिक पोष्ट राखिएको छ । सवारीसाधन व्यवस्थापनमा ट्राफिक प्रहरीको दायित्व भए पनि सरोकारवाला निकाय र चालकको हातेमालोले नै काम गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब निरीक्षक भीमबहादुर बोहराको भनाइ छ ।

सामान्य अवस्थामा डडेलधुरा बजार हुँदै बस, ट्रक लगायतका सवारीसाधन दैनिक करिब एकहजार जति गुड्छन् भने चाडबाडको बेलामा यो सङ्ख्या झण्डै दोब्बर हुने गरेको प्रहरी नायब निरीक्षक बोहराले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बेलाबखत ट्राफिक सचेतनाका कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । तर जिल्लाको ट्राफिक ब्यवस्थापन गर्न सवारी चालक र नागरिकहरुलाई जनचेतना जगाउने काम भएता पनि पूर्णरुपमा यसको ब्यवस्थापन हुन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ