arrow

ज्ञानेन्द्रलाई ओलीको झटारो–‘जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने ?’

संविधान संशोधनको विषयमा एमालेसँगै कुनै परामर्श भएकै छैन

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
oli-speech-niws-rishi.jpeg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा अहिलेसम्म एमालेसँग कसैले पनि छलफल तथा परामर्श नै नगरेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग निवासमै कुराकानी गर्दै अध्यक्ष ओलीले सत्तापक्ष र मधेशी मोर्चाबीच संविधान संशोधनबारे सहमति भयो भन्ने कुरा बाहिर आएपनि आफ्नो पार्टीसँग यसबारेमा अहिलेसम्म कुनै छलफल तथा परामर्श नै नभएको जिकिर गरे । ओलीले भने,‘अरु को–को सँग के–के भए, तर एमालेसँग संविधान संशोधनबारे कुनै छलफल अहिलेसम्म भएको छैन ।’

उनले भोलिका दिनमा कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको बताए । यद्यपि, उनले उपर्युक्त विषयमा संविधान संशोधन हुने कुरामा आफ्नो दल निकै सचेत रहेको स्पष्ट पारे । अध्यक्ष ओलीले भने, ‘देश र जनताको हित हुने कुरामा मात्रै संविधान संशोधन हुन्छ भन्ने कुरामा एमाले प्रष्ट छ, तर हचुवाको भरमा संविधान संशोधन हुन सक्दैन ।’ उनले अहिले संविधान संशोधनभन्दा पनि कार्यान्वयन प्रधान कुरा भएको जिकिर गरे ।

अध्यक्ष ओलीले संविधान संशोधन कसैको दबाब र कुनै प्रयासका कारण देशलाई नै अहित हुने खालको संविधान संशोधन हुनै नसक्ने जिकिर गरे । मुलुक अब कसैको प्रयोगको थलो हुन नसक्ने ओलीको भनाई छ  । यद्यपि, ओलीले संविधान गतिशिल र परिवर्तनशील दस्तावेज भएको उल्लेख गर्दै संविधान संशोधन देशलाई आवश्यक परे गर्न सकिने बताएका हुन् ।

ओलीले अगाडि भने, ‘अनेक प्रकारका ईन्जेक्सनहरु अब प्रयोग हुँदैनन्, हाम्रा हात पाखुरा र नशाहरुमा यो विषाक्त ईन्जेक्सन हान्न दिँदैनौं, हाम्रो आफ्नो राष्ट्रिय लक्ष्य हुन्छ, त्यस अनुसार हामी अघि बढ्छौं ।’ क–कसले कहाँ कहाँ के–के गर्छु भनेर सत्ता प्राप्तिका लागि के–के सहमति गर्छ त्यो आफूहरुको विषय नभएको भन्दै अध्यक्ष ओलीले भने,‘देशका लागि आवश्यक पर्ने सकारात्मक संशोधन हामी गर्छौं ।’ उनले अहिले संविधान कार्यान्वयनतर्फ उन्मुख रहेको बताउँदै भने,‘संविधान कार्यान्वयन भैरहेको छ, यो अहिले कार्यान्वयनको प्रक्रियामा छ ।’

उनले अहिले मुलुकको लागि निर्वाचन प्राथमिक कुरा भएको उल्लेख गर्दै भने ,‘निर्वाचन गर्ने कुरा ठूलो हो, त्यस्तै अहिले विद्यमान संक्रमणकालिन व्यवस्था टुँग्याउने कुरा प्रधान कुरा हो, खास गरी कार्यान्वयन त भैरहेको छ ।’

पछिल्लो समय नेपालमा जे गरेपनि नमान्ने चलन हावी भएको अध्यक्ष ओलीको गुनासो थियो । उनले अघि थपे,‘यो गर्दा पनि नमान्ने, त्यो गर्दापनि नमान्ने प्रवृत्ति देखा परेको छ ।’ ओलीले भने, ‘यहाँ अहिले यस्तो चलन चलेको छ कि, एउटा खुर्सानी हाल्यो भने मात्रै खान्छु भन्छ, अर्को खुर्सानी नझिके खान्न भन्छ, यस्तो देखियो पोहोर साल, दुईवटैको दृढ अडान ।’ ओलीले थपे,‘अल्झ्याउने कुरा मात्रै हो, अल्झ्याउने कुरा हुँदैन, तर नअल्झ्याउनेका नाउँमा, कुलो लगाउने नाममा खोलो फर्काएर खेतै बगाउने काम चाहीँ स्विकार्य छैन्  ।’
उनले मुलुक र जनताको हितको लागि के गर्नुपर्ने हो भन्ने आफ्नो भूमिका एमालेले राम्रोसँग बुझेको समेत बताए ।

‘हामीले केही दिन अघि मात्रै वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाइयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदै छन् भन्ठानेर महाराजाका महाराजाधिराज भन्छन् ।’ ओलीले थपे, ‘आउट डेटेड, उनीहरुले महाराजाधिराज, फेरि राजतन्त्र आउनु पर्‍याे, फेरि आशनमा फर्किनु पर्‍याे, हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् । जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?।’

अध्यक्ष ओलीले पछिल्लो समय नेपालको संस्कृतिमाथि हमला भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अघि थपे,‘हामी तिव्र परिवर्तनको क्रममा छौं, तर भैरहेको कस्तो छ, पिच बनाएपछि गाडी जति किलोमिटरको गतिमा कुद्छ, आज हामी ग्राबेल नै नगरी त्यतिकै गतिमा कुदाउँदैछौं । भोलि त्यति स्पिडमा दौडिन सक्थ्यो तर आजै यस्तो प्रयास भैरहेको छ । उनले अघि थपे,‘विभिन्न नाममा हामी आक्रान्त बनेका छौं, हामीमाथि विभिन्न प्रकारका हमलाहरु भैरहेका छन् ।’

अध्यक्ष ओलीले अहिले नेपालको गौरवपूर्ण ईतिहासलाई प्रतिगामी बनाउने प्रयास भैरहेको बताउँदै भने,‘मान्छेहरु आज विजुलीको जमानामा विजुली बाल्न छोडेर,  हाम्रो संस्कार त्यो हो भन्दै टुकी नै बाल्न खोजिरहेकाछन् ।’ उनले अघि थपे,‘पूराना कुराहरु जसलाई हामीले हटाई विस्थापित गर्नुपर्छ र विकासतर्फ हामी जानुपर्छ, त्यसलाई अस्विकार गर्ने खालका प्रवृत्तिहरु अहिले देखा परेका छन् ।’

पूर्वराजा  ज्ञानेन्द्र शाहतर्फ ईंगित गर्दै अध्यक्ष ओलीले धर्मसंस्कृतिलाई राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्ने प्रयास भैरहेको आरोप लगाए । ओलीले थपे,‘हामीले केही दिन अघि मात्रै वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाइयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदै छन् भन्ठानेर महाराजाका महाराजाधिराज भन्छन् ।’ ओलीले थपे, ‘आउट डेटेड, उनीहरुले महाराजाधिराज, फेरि राजतन्त्र आउनु पर्‍याे, फेरि आशनमा फर्किनु पर्‍याे, हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् । जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?।’

पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले भने,‘अरु हिसाबले पार लागेन अब जोगीका रुपमा गेरु बस्त्र, रातो बस्त्र, पहेंलो बस्त्र, राम–नाम, खडो चन्दन, खरानी धसेको, लामो दाह«ी पालेको, जटा अलिकति समय बनाएका, त्यसलाई दुरुपयोग गरेर, अब जटाधारी वा वस्त्रका आवरणमा नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भैरहेको छ, साँस्कृतिक हमलाको रुपमा हामीले देख्यौं ।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारप्रति व्यंग्य गर्दै भने,‘हुन त अहिले ठूला गणतन्त्रवादीहरुको सरकार भएको जस्तो लाग्छ, अस्ति संसदमा बोल्दा त्यस्तै सुनेको थिएँ, तर त्यसमा सरकारको कुनै प्रतिक्रिया देखिएन ।’ अध्यक्ष ओलीले मुलुक र जनताभन्दा ठूलो कुरा अरु केही नहुने बताउँदै भने,‘अब देशलाई केन्द्रभागमा राखेर काम गर्नुपर्छ, पहिलो प्राथमिकताा हाम्रो राष्ट्र हुनुपर्छ, दल र दलीय स्वार्थ, गुट–उपगुट वा आफ्नो नीजी स्वार्थ हुनुहुँदैन्, देश केन्द्र भागमा हुनुपर्छ, त्यसरी अघि जाने कुरामा सचेत सञ्चार जगतको भूमिका रहनुपर्छ ।’


निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमा प्रमुख पार्टी नेपाली काँग्रेसलाई मनाउने कुरामा के भैरहेको छ भन्ने जिज्ञासामा प्रतिक्रिया दिँदै ओलीले भने,‘तपाईहरुले देउसी खेल्नुहोस् न, देउसी खेलेपछि आँफै त्यो वातावरण बनिहाल्छ नि, तपाईहरुको देउसी त शक्तिशाली छ, म उठ्दै नउठेकोलाई त उठाएरै छोडिदियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ