काठमाडौं । मुख्य सत्ता साझेदार दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी मोर्चाको माग सम्बोधनको लागि संविधान संशोधन गर्नेबारेमा सहमति भएको बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा देउसी–भैँलो खेल्न पुगेको टोलीसँगको कुराकानीमा बरिष्ठ नेता पौडेलले संविधान संशोधन गर्नेबारे सत्तारुढ दल र मधेशी मोर्चावीच सहमति भएको बताए । पौडेलले भने,‘अब कार्तिकभित्रै संविधान संशोधन हुन्छ, यसको लागि दलहरुवीच सहमति भएको छ, आइतबारको बालुवाटार बैठकमा सहमति नजिक पुग्यौं ।’
बरिष्ठ नेता पौडेलले मधेशी मोर्चाले भनेबमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको स्वरुप लगायतका विषयमा दुवै पक्षवीच कम्प्रोमाईज गर्ने सहमति बनेको खुलासा गरे ।
उनले प्रमुख दलहरुको सामू तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नु प्रमुख चूनौति रहेको उल्लेख गर्दै भने,‘समयमै तीनवटै निकायको चुनाव गर्न सकिएन भने, संविधानको कार्यान्वयन हुँदैन, यो तीन दलकै निम्ति ठूलो चूनौति हो, यसमा सबै पक्ष उतिकै लचिलो हुनुपर्छ ।’ नेपालको राजनीतिमा सहमतिको विकल्प नभएको उनको तर्क थियो ।
संविधान संशोधनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि सहमतिमा आउने उनको विश्वास थियो । पौडेलले भने,‘असन्तुष्टहरुको माग पूरा गर्नको लागि संविधान संशोधन गर्नुपर्छ, यसको लागि सबै दलहरु मिल्नुपर्छ, सबैखाले चलखेलहरुलाई निस्तेज पार्नुपर्छ ।’
निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिश समितिमा गैसकेकोले त्यसबारमो समितिले नै छानविन गर्ने भएकोले समितिको निर्णय आएपछि मात्रै काँग्रेसले उचित निर्णय लिने बताए । उनले भने,‘यो विषयलाई अतिरञ्जित बनाउनुहुँदैन् ।’
क्लबका अध्यक्ष धमलासँगै छमछमी नाच्दै नेता पौडेलले संविधान संशोधन र संविधान कार्यान्वयनको लागि क्लबले दबाबमूलक देउसी–भैलो कार्यक्रम गरेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा समेत गरे । पौडेलले भने,‘हिजो संविधान जारी गर्नको लागि पनि दलहरुलाई ऋषिजीले दबाब दिनुभएको थियो, अब कार्यान्वयनको लागि पनि उहाँले दबाब थाल्नुभएको छ, यो प्रशंसनीय काम हो ।’