arrow

संयुक्त राष्ट्रसङ्घ दिवस : नेपाल विश्व शान्तिप्रति समर्पित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
Purna Bdr Kharda-nepal army.jpg
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाद्वारा बुधबार आयोजित संयुक्त राष्ट्र सङ्घ दिवस-२०२३ कार्यक्रममा नेपाली सेनाको तर्फबाट सलामी ग्रहण गर्दै । तस्बिर : रासस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

राष्ट्रसङ्घको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ मा मनाइँदै आएको दिवस यस वर्ष नेपाली पात्रोअनुसार दसैँका दिन परेकाले आज मनाइएको हो ।

नेपाली सेनाले आज शान्ति र्‍यालीको आयोजना गरेको थियो ।

जङ्गी अड्डाको खेल मैदानबाट सुरु भएको पाँच किलोमिटर दूरीमा सञ्चालित र्‍यालीमा सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अधिकृत, विभिन्न युएन मिसनका पूर्वफोर्स कमाण्डर, विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी, सञ्चारकर्मीलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि सहभागी थिए ।

दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतिकरण समावेश गरिएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको पहिचान र विश्व शान्तिको कार्यप्रति समर्पित रहेको र संयुक्त राष्ट्रसङ्घको महासचिवको लैङ्गिक समानताको रणनीतिलाई अङ्गीकार गर्दै दक्ष महिला शान्तिकर्मी तैनाथ गरिरहेको बताए । 

उनले बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकाले नवीन तवरले शान्ति कार्य सम्पादन गर्नुपर्ने उल्लेख गरे । 

संयुक्त राष्ट्रसङ्घले माग गरेको अवस्थामा नेपाल सरकार दश हजार तालिमप्राप्त शान्ति सैनिक पठाउन तयार रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राष्ट्रसङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पुर्‍याएको कुरालाई दर्साउने बताए । 

नेपाली शान्ति सैनिकले परराष्ट्र नीतिलाई सहयोग पुर्‍याउने कार्यका साथै द्वन्द्वग्रस्त समुदायलाई द्वन्द्वको चपेटाबाट बाहिर निस्किन मद्दत गरी नेपालको छविसमेत उच्च राख्न सहयोग पुर्‍याएको बताउँदै उनले यस्ता कार्यको सराहना गर्दै आफ्नोतर्फबाट दक्ष शान्ति सैनिक खटाउन पूर्णरूपमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हन्ना सिंगर-हम्दीले पाँच जना सैनिक पर्यवेक्षकबाट सुरु भएको नेपालको शान्ति स्थापना यात्रामा हाल छ हजारभन्दा बढी शान्ति सैनिक खटिनुले नेपाल र संयुक्त राष्ट्रसङ्घको भरपर्दाे सदस्य राष्ट्र भएको कुरा बताउँदै दिवसको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।

प्रधान सेनापति शर्माले बदलिँदो परिस्थितिबीच शान्ति सैनिकलाई समेत खतरा बढ्दै गएकोले शान्ति सैनिक आधुनिक उपकरण र उच्च पेसागत दक्षताले सुसज्जित हुनुपर्ने बताए । 

सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश हजार शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धताको तयारी नेपाली सेनाले पूर्णरूपमा गरिरहेको बताउँदै उनले फौजको दक्षता वृद्धि गरी सशक्त कार्य गर्ने क्षमता वृद्धि गर्न योजना गरी कार्यान्वयन भइरहेको बताए । 

त्यसका लागि शान्ति सैनिकको गतिशीलता र क्षमता अभिवृद्धि गर्न प्रयास भइरहेको र उक्त कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानलाई समेत प्रधान सेनापति शर्माले सराहना गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ