arrow

दिगो शान्ति सम्झौताका लागि प्रयास दोब्बर बनाउन अमेरिका र इरानलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
iran-usa-war-2026.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई तीव्र र दोब्बर बनाउन आह्वान गरेका छन्। मध्यपूर्वमा तनाव बढ्दै गएपछि उनले द्वन्द्वलाई पुनः चर्काउने खालका कुनै पनि सैन्य वा राजनीतिक क्रियाकलापबाट बच्न दुवै देशलाई सचेत गराएका हुन्।

इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यसको प्रतिउत्तरमा खाडी क्षेत्रसहित छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण गतिविधिले मध्यपूर्वमा तनाव उल्लेख्य रूपमा बढेको भन्दै महासचिव गुटेरेसले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासचिवको उक्त सन्देशबारे जानकारी दिएका हुन्।

प्रवक्ता डुजारिकका अनुसार महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय कानुन बमोजिम समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सबै पक्षले अनिवार्य सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन्। उनले सम्बन्धित सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका आफ्ना कानुनी दायित्वहरू पूर्ण रूपमा पालना गर्न र नागरिकहरूको जिउधनको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन समेत आग्रह गरे।

मध्यपूर्वको यो अशान्त वातावरणलाई मत्थर पार्दै शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र अचुक उपाय वास्तविक संवाद र कूटनीतिक वार्ता नै भएको राष्ट्रसङ्घको ठहर छ। प्रवक्ता डुजारिकले वासिङ्टन (अमेरिका) र तेहरान (इरान) लाई क्षेत्रीय एवं अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई मजबुत बनाउनका लागि तत्काल एउटा स्थायी शान्ति सम्झौतामा पुग्न र त्यसका लागि आफ्ना कूटनीतिक प्रयासहरूलाई दोब्बर बनाउन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ