न्यूयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबीचको व्याप्त गोलीबारीबारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् ।
पत्रकारहरुसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तामान समयलाई सम्झौता र लागि महत्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् ।
गुटेरेसले सबै पक्षहरूलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासहरूलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकले बताएका छन् ।
शान्ति स्थापनार्थ भएका अनेकन प्रयासका बाबजुत संयुक्त राज्य अमेरिका र इरानले शुक्रबार हर्मुजको जलक्षेत्रमा आक्रमण तथा गोलीबारी गरेपछि महासचिव गुटेरेसको आह्वान आएको जनाइएको छ ।