पाँचथर। सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन्।
पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ। परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन्।
यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युत्गह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने छन्।
तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्याइनेछ।
परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताए। रासस