arrow

राष्ट्रसङ्घ महासचिव गुटेरेस आउँदै, द्वन्द्वकालीन मुद्दा प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । 

गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका  भ्रमणका क्रममा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डको भ्रमणको निम्तोलाई स्विकार्दै  महासचिव गुटेरस नेपाल आउन लागेका हुन् ।  

गुटेरसको भ्रमणले नेपालसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसअघि महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने भनिए पनि इजरेल-हमास युद्धका कारण उनको भ्रमण स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले गुटेरेसको अनुकूलतामा नयाँ मिति तय गरिने बताएको थियो। 

उनले द्वन्द्वकालीन मुद्दा, जलवायु परिवर्तन र शान्ति सेनाका विषयमा मुख्य  राजनीतिक दलहरू छलफल गर्ने छन् ।  जलवायु परिवर्तनको मामिलालाई अहिले राष्ट्रसङ्घले निकै महत्त्व दिने गरेको छ। 

महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, राजनीतिक दलका नेतासँग भेट गर्ने छन् ।   गुटेरेसले द्वन्द्व कालका पीडितहरूसँग समेत भेट गर्ने बताइएको छ ।

महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । उनले कार्तिक १३ मा संघीय संसद्लाई सम्बोधन गर्नेछन् ।

गुटेरस पोर्चुगलका पूर्व प्रधानमन्त्री पनि हुन् । सन् २०१७ मा राष्ट्रसङ्घको नवौँ महासचिवको पद सम्हाल्नुअघि उनी राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका प्रमुख पनि थिए। 

गुटेरसलाई जुन सन् २०२१ मा राष्ट्रसङ्घको महासचिवको दोस्रो कार्यकालका निम्ति चयन गरिएको थियो।

महासचिव गुटेरेस भन्दा अघि  सन् २००१ को मार्चमा महासचिव कोफी अन्नानले नेपाल भ्रमण गरेका थिए ।  भने सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन काठमाडौं  आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ