arrow

वीर बचाउन 'जय वीर' अभियान, खरिद एकाइ माफियाको कब्जामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
bir-hospital-134th-estd.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वीर अस्पतालको खरिद एकाइ मेडिकल माफियाको कब्जामा गएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । एजेन्ट नै खरिद एकाइको वरिष्ठ सदस्यमा नियुक्त भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । 

गत शुक्रबार वीर अस्पतालबाट फाइल उठेर गठन भएको खरिद एकाइमा नियुक्त सदस्य अहेब नवराज श्रेष्ठ विगतदेखि नै विवादमा परेका ब्यक्ति भएको छन्दै कर्मचारीहरुले आपत्ति जनाएका हुन् । 

उनीमाथि ग्यास्ट्रो मेडिसिन ओपिडिमा रहँदा बिरामीसँग पैसा लिइ इन्डोस्कोपी, क्लोनस्कोपी  गराइ सो रकम अस्पतालको खातामा जम्मा नगरी लाखौँ रुपैयाँ अनियमितता गर्नुका साथै अन्य बिरामीलाई वीर अस्पतालमा समय मिल्दैन भनी निजी अस्पतालहरु र आर एस भण्डारीको ह्याम्स अस्पतालमा पठाएर कमिशन लिने गरेको आरोप छ । 

सोही सम्बन्धमा तत्कालीन मेडिकल विभाग प्रमुख डा विधान पौडेल र डा अजित खनालले श्रेष्ठलाई कारबाही गर्न अस्पताल प्रशासनलाईसमेत भनेका थिए । तर निजी अस्पतालले रोकेपछि उनीमाथि कारबाही नभएको एक चिकित्सकले बताए । 

त्यस्तै निजी नर्सिङ कलेज सञ्चालकको योजनामा अस्पतालको समन्वय शाखा प्रमुख बनेका श्रेष्ठले निजी नर्सिङ कलेजका विद्यार्थीलाई वीर अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन विभित्र नर्सिङ कलेजलाई मापदण्ड विपरीत बर्षाैंसम्म सहमति दिएको पनि आरोप छ । 

श्रेष्ठले अभ्यास गराउन सहमति दिइ सो बापत अस्पतालमा तिर्नु पर्ने शुल्क अस्पतालमा दाखिला नगरी आफैँले लिने गरेको, अन्य विधाका विद्यार्थीका लागि पनि अभ्यास गर्न दिँदा अनियमितता गरेको,  सोही शाखा अन्तर्गतको सामाजिक सेवामा पैसा लिँदै १६ जना सहजकर्ता कर्मचारी भर्ना गरेको आरोप पनि छ । 

वीर अस्पतालमा स्वास्थ्य बिमाको कुल कमाइको १० प्रतिशत कमिशन लिन खोजेको तर कर्मचारीहरुले विरोध गरेपछि बिमा कार्यक्रम नै असफल बनाउन लागेकाले हालका निर्देशक शन्तोष पौडेलले श्रेष्ठलाई बिमा कार्यक्रमबाट हटाएर अरुलाई जिम्मेवार दिएका थिए । 

श्रेष्ठमाथि कोभिडका बेलामा विदेशी नागरिकलाई होटलहरुमा पुगेर सरकारी मापदण्ड विपरीत ४० हजार रुपैयाँसम्म लिएर भेरोसिल भ्याक्सिन लगाइदिएकोसमेत आरोप छ । 

चीन जानुपर्ने भारतीय नागरिकहरुसमेत श्रेष्ठबाट भेरोसिलको खोप लगाएर चीन जाने गरेको अस्पताल स्रोत बताउँछ । कोरोनाका बेलामा श्रेष्ठले यसरी नै अवैध काम गरेर लाखौँ रुपैयाँ कमाएको आरोप छ । 

अहेब नवराज श्रेष्ठ

यस सम्बन्धमा खख्तियार दुरूपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पति शुद्धीकरण र स्वास्थ्य मन्त्रालयमासमेत उजुरी परेको थियो । 

यो विषयमा अहिलेसम्म सर्तकता र अख्तियारमा छानबिन भइरहेको छ । उनले आफ्ना सहकर्मीहरुमाथिसमेत दुर्व्यवहार गर्ने गरेको पाइएको छ । 
सामाजिक एकाइ तथा समन्वय शाखाका कर्मचारी भन्छन्, ‘हामीलाई घरको नोकरको जस्तो व्यवहार गर्छन् सामन्ती पाराका छन् । उनी हाम्रा सहकर्मी हैनन् मेडिकल माफियाका वीर अस्पताल एजेन्ट मात्रै हुन् ।’

हाल उनलाई केही मेडिकल, सर्जिकल, प्याथोलोजी र उपकरण सप्लायर्स माफियाको सहयोग रहेको वीरको उच्च स्रोत बताउँछ । 

स्रोतका अनुसार यो आर्थिक वर्षको मेडिकल, सर्जिकल, प्याथोलोजी तथा जनरल स्टोरको टेन्डर हाल्ने व्यापारीले अस्पतालको स्टोरहरुको टेन्डर हाल्ने र जसरी पनि नवराज श्रेष्ठ मार्फत सो अस्पताल स्टोरको वार्षिक १५ करोड रुपैयाँ र अस्पताल फार्मेसीको डेढ अर्ब रुपैयाँको टेन्डर हत्याउने तथा वीरले किन्न लागेको एमआरआई, ऐनेस्थेसिया मेसिन, गामा क्यामेरालगायत सर्जिकल, मेडिकल, प्याथोलोजी र महँगो मेसिन ठेक्का आफूलाई पार्न अभियानमा लागेका माफियाहरुले सबै टेन्डर आफूलाई पार्न श्रेष्ठलाई खरिद एकाइको वरिष्ठ सदस्य बनाएर यो प्रक्रियामा शुरुआत गरिसकेका छन् । 

अस्पताल बचाउन पर्छ भनेर लागेकाहरुले यो गलत प्रक्रियाविरुद्ध विगत १० वर्षदेखिकै सबै आर्थिक र प्रशासनिक अनियमितता छानबिन र सम्बन्धित निकायले छुट्टै समिति गठन गरी गहिरो अध्ययनको माग गर्दै संसदीय स्वास्थ्य समिति,  सार्वजनिक खरिद अनुगमनको कार्यालय, महालेखा, स्वास्थ्य मन्त्रालय, सर्तकता केन्द्र, अर्थ मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, प्रधानमन्त्री कार्यालय र अख्तियार आयोग जाने तयारी गरेको वीर अस्पताल बचाउ अभियान ‘जय वीर’ का एक कर्मचारीले बताए । 

उनले भने, ‘हामीले अस्पतालका संघ संगठनलाई अनियमित खर्च घटाउन, महँगोमा कोटेशनमार्फत खरिद, सेटिङमा टेन्डर र गुणस्तरहीन सामान आयात रोक्न अनुरोध गर्यौँ । तर उनीहरु पनि हेरौँ हामी बुझ्नुपर्छ, सोध्छौँ अनि सल्लाह गरौँला भने । तर हामी उनीहरुको विश्वास नलागेर आफैँ कम्मर कसेर लागेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ