arrow

खाद्यले घटायो खसी बोकाको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
goat-farming.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । 

कम्पनीले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो रु १० छुट दिएको हो । कम्पनीले आजदेखि जीउँदो खसीबोका प्रतिकिलो रु छ सय ५० तथा च्याङ्ग्रा प्रतिकिलो रु एक हजार दुई सय २५ मा बिक्री गर्न थालेको छ । 

खाद्यले यसअघि जीउँदो खसीबोका प्रतिकिलो रु १० छुट दिएर रु छ सय ७० तथा च्याङ्ग्रा रु एक हजार दुई सय ५० मा बिक्री गर्दै आएको थियो । पशुचौपायाको खरिदबिक्रीमा उपभोक्ताको उल्लेख्य सहभागिता नदेखिएको र लामो समयसम्म खसीबोका तथा च्याङ्ग्रा पाल्दा खर्च बढ्ने भएकाले मूल्य घटाएर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

उपभोक्तालाई थप सहुलियत दिने उद्देश्यले जीउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाइएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । खाद्यले गत असोज ३० गतेदेखि थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको छ । 

खाद्यले मकवानपुर, दाङ र कैलालीबाट एक हजार छ सय ५८ खसीबोका तथा रसुवाबाट पाँच सय ५४ च्याङ्ग्रा खरिद गरेर ल्याएको थियो । हालसम्म छ सय ३० वटा मात्रै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको कम्पनीले जनाएको छ । 

अझै एक हजार पाँच सय ८२ खसीबोका बिक्री हुन बाँकी छ । फुलपाती र अष्टमीमा खसीबोका तथा च्याङ्ग्राको बिक्री हुने गर्छ । “आज, फूलपाती र अष्टमीमा खसी बोकाको बिक्री हुने हो, लामो समयम्म राख्दा दानापानी तथा स्याहार सुसारमा खर्च गर्नुपर्ने अवस्था आउने भएकाले उपभोक्ता मूल्यमा थप छुट दिइएको हो”, सूचना अधिकारी न्यौपानेले भनिन् । 

काठमाडौँ उपत्यकामा उपभोक्तालाई सहुलियत मूल्यमा स्वस्थ खसीबोका तथा च्याङ्ग्रा उपलब्ध गराई मासुजन्य पदार्थको मूल्य स्थिरीकरण गर्ने उद्देशयले कम्पनीले खसीबोका बिक्री गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ