arrow

नयाँ सहकार्य आवश्यक : सचिव पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
devendra-poudel-2080.jpg
तस्बिर-फाइल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरुबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए ।

नेता पौडेलले भने, “अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्वले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पुर्‍याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरुबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।”

समाजलाई भड्काउन खोज्नेका विरुद्ध एकताबद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने नेता पौडेलले बताए । 

प्रतिनिधिसभाका सांसदसमेत रहेका उनले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए । 

देशको अबको बाटो भनेको सुशासनसहितको समृद्धि र सामाजिका न्याय समितिको समाजवादी कार्यक्रम रहेको उनले उल्लेख गरे ।

“हामी देशमा समृद्धि, सामाजिक न्याय र प्राप्त उपलब्धिको रक्षा गरेर मात्र सुशासनमा अघि बढ्न सक्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अहिलेको सरकारले काम गरिरहेको । त्यसमा सबैको साथ र सहयोग आवश्यक छ”, नेता पौडेलले भने ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले निर्वाचनका समयमा जनताका बीच गरेका बाचा पूरा गर्नका लागि सरकारले काम गरिरहेको बताए । 

उनले सङ्घीयताअनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश सरकारलाई अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिए । 

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त प्रयासबाट मात्र देशमा विकास र जनताका आवश्यकता पूरा गर्न सकिने बताए । 

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेकपा (एमाले) का कास्कीका सचिव वैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकाल, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ बराल, नेकपा (माओवादी) पोखरा महानगरका इञ्चार्ज पारसमणि पौडेल, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी(विज्ञान), उपाध्यक्ष भानुभक्त अधिकारी, सचिव जनकराज पराजुली, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति लगायतले आसन्न चाडपर्वले सामाजिक सद्भाव र एकता मजबुत बनाउने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ