काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले वनकालीमा भएको विश्व हिन्दु महासम्मेलनमा भनेका कुराहरुलाई मनन् गर्न दलका नेताहरुलाई आग्रह गरेका छन् । मंगलबार बिहान ११ बजेर ५२ मिनेटको शुभसाइतमै बहिनी शोभा राज्यलक्ष्मीदेवी शाहबाट टीका ग्रहण गरे पश्चात संचारकर्मीसँग संक्षीप्त प्रतिक्रिया दिँदै पूर्व राजा ज्ञानेन्द्रले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘देश काल र परिस्थिति हेर्दा धेरै विचल्लीहरु छन् । मैले जनताले सोधेका आधारमा दशैंको शुभकामना सन्देश दिँदा पनि भनेको थिँए । वनकालीमा पनि तिनै कुरा भने । मलाई आएर सर्वसाधारणले भनेका कुरा हुन् । यो सब कुरा नेताहरुले विचार गर्नुस् भन्ने मेरो कामना हो ।’
भाइटीका लगाउन शोभाराज्यलक्ष्मी शाहको निवास कमलादी पुगेका पूर्वराजा शाहले सबैलाई शुभकामना दिँदै थपे, ‘आज त्यस्तो कुरा गर्ने दिन त होइन । तर, जनआकांक्षालाई ख्याल गरिदिनु पर्याे भन्ने आग्रह हो ।’
यसअघि, पूर्व राजा शाहले पाशुपत क्षेत्रको वनकालीमा भएको विश्व हिन्दु महासम्मेलनको प्रमुख अतिथिको हैसियतले भनेका थिए, ‘असन्तुलनले उपेक्षा निम्त्याउँछ । उपेक्षाले विद्रोह ।’ सन्तुलन कायम गर्नु अपरिहार्य छ ।
पूर्व राजा शाहले बोलेको विषय र वनकालीमा उनलाई सम्बोधन गरिको विषयमा सोमबार मात्रै एमाले अध्यक्ष केपी ओलीले खरो टिप्पणी गरेका छन् ।
सोमबार आफ्नै निवास बालकोटमा पत्रकारहरुको देउसी भैंलो टोलीसँग कुरा गर्दै ओलीले भने, ‘हामीले केही दिन अघि मात्रै वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाइयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदै छन् भन्ठानेर महाराजाका महाराजाधिराज भन्छन् ।’
नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भैरहेको भन्दै ओलीले थपे, ‘आउट डेटेड, उनीहरुले महाराजाधिराज, फेरि राजतन्त्र आउनु पर्याे, फेरि आशनमा फर्किनु पर्याे, हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन् । जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने....?।’