- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । धादिङ जिल्लामा आइतबार बिहान गएको भूकम्पपछि निरन्तर पराकम्पन आउने क्रम अझै रोकिएको छैन । बिहान ७ः३९ बजे खरीमा केन्द्रविन्दू भएर आएको ६.१ रेक्टर स्केलको भूकम्पपछि निरन्तर पराकम्पन आइरहेका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा मुकुन्द भट्टराईले साँझ ५ बजेसम्म मात्रै १२५ ओटा पराकम्पन आएको बताएका भए पनि त्यसको केही समयपछि दुई मिनेटको अन्तरमा झन् ठूला पराकम्पन आए ।
बिहान शुरुआतमा गएको भूकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्पन हो । त्यसपछि आएका पराकम्पनहरु भने त्यही शुरुआतमा आएको गोरखा भूकम्पको पराकम्पनका पनि पराकम्पनहरु हुन् ।
बिहानको पहिलो धक्कापछि आएका पराकम्पनमा ४ रेक्टर स्केलदेखि माथिका छ ओटा आइसकेका छन् । जसमा बिहान ८ः०८ मासल्यानटार केन्द्रविन्दूको ४.२ रेक्टर स्केलको, ८ः२८ मा गैरिपाटा केन्द्रविन्दू भएर आएको ४.३ रेक्टर स्केलको, ८ः५९ बजे गैरिपाटा नै केन्द्रविन्दू भएर आएको ४.१ रेक्टर स्केलको र अपरान्ह ४ः०३ बजे अरुणचोक केन्द्रविन्दू भएर आएको ४.४ रेक्टर स्केलको पराकम्पन हुन् ।
त्यसपछि साँझ ५ः३१ बजे खरीमै ५ रेक्टर स्केलको र ५ः३३ बजे पनि खरीमै ५ं१ रेक्टर स्केलको पराकम्पन आएको हो ।
यो क्रम अझै भइरहने डा भट्टराईले बताए । ५ बजेपछिका ४ रेक्टर स्केलदेखि मुनिका पराकम्पन रेकर्डमा रहे पनि तत्काल भन्न नसकिने बताए । उनले साना साना पराकम्पन निरन्तर आइरहेको बताए ।
यसअघि बझाङमा गत असोज १८ गते गएको ६.३ रेक्टर स्केलको भूकम्पका अहिलेसम्म छ सय बढी पराकम्पन आइसकेका छन् ।
धादिङ भूकम्पले थुप्रै घर भत्किएका छन् भने सयौँ चर्किएका छन् । यद्यपि यसको पूर्ण विवरण आउन बाँकी छ । यो भूकम्पको धक्का पूर्वमा सिन्धुपाल्चोकसम्म र पश्चिममा रुपन्देहीसम्म महसुस गरिएको थियो ।
निरन्तर ठूला ठूला पराकम्पन आएसँगै ती शुरुआतमा चर्किएका घरहरुमा थप क्षति पुगेको छ ।