arrow

प्रहरीसँगै रहेका गोसाइँकुण्डका छिरिङ बेपत्ता, सार्वजनिक गर्न कांग्रेसको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
chiring-tamang-rasuwa-2080-07-09.jpg

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका १ का छिरिङ तामाङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसको भ्रातृ संघ संस्था समन्वय विभाग प्रमुख शिवप्रसाद पौडेलले बेपत्ता पारिएका उनको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् । 

छिरिङका परिवारले भने प्रहरीकै मिलेमतोमा छिरिङलाई बेपत्ता पारिएको भन्दै तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन् । 

थुमनमा भएको घटनामा सरोकार नै नभएका तामाङलाई पक्राउ गरी सदरमुकाम धुन्चे ल्याउने क्रममा बाटोबाट बेपत्ता पारिएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरिएको छ । 

छिरिङको घटनामा कुनै संलग्नता नरहँदा पनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको आरोप लगाइएको छ । 

पौडेलले छिरिङको अवस्था सार्वजनिक गर्नुपर्ने र जनप्रतिनिधिसमेत संलग्न सबैलाई कारबाही गर्नुपर्ने माग कांग्रेसको समन्वय विभागले विज्ञप्तिमार्फत गरेको छ ।

छिरिङलाई बाटोमै बेपत्ता बनाउन प्रहरीकै हात रहेको आरोप लागेको छ । प्रहरीकै नियन्त्रणमा भएको व्यक्ति प्रहरीको मिलेमतो बिना बेपत्ता हुन नसक्ने भन्दै आपत्तिसमेत जनाइएको छ । 

यस सम्बन्धमा प्रहरी प्रमुख डीएसपी सुवास बुढाथोकी भने छिरिङ प्रहरीको नियन्त्रणमा नरहेको र छिरिङकै गाउँले दावा तामाङसँग मोटरसाइकलमा जाँदा उल्टै धक्का दिएर भीरबाट लडेर खोलामा हाम फालेर बेपत्ता भएको बताएका छन् । 

उनका अनुसार गत कार्तिक ६ गते एउटा गाउँमा भएको कुटपीटका विषयमा प्रहरी चौकीमा छलफल गराउँदा कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि लैजाँदै गर्दा बाटोमै बेपत्ता भएका हुन् । 

यहाँनेर भने प्रहरीको कमजोरी स्पष्टै देखिन्छ । जब कुटपीटमा संलग्न भएको भनेर कसैलाई चौकीमा लगेर गइन्छ र कुरा नमिलेर माथि जिल्लासम्म लगिन्छ भने त्यो अभियुक्त प्रहरीकै नियन्त्रणमा रहेर लगिन्छ । 

तर डीएसपी बुढाथोकी भने प्रहरीको नियन्त्रणमा नभएको बताइरहेका छन् । उनले प्रहरीको कुनै हात नरहेको र उल्टै छिरिङले दावाले चलाइरहेको मोटरसाइकललाई धक्का दिएर भीरबाट लडाएर अनि खोलामा हाम फालेर भागेको बताइरहेका छन् । 

भीरबाट लडिन्छ भने कसरी हामफाल्न मिल्छ ? यहाँनेर छिरिङका परिवारसँगै कांग्रेसलेसमेत गम्भीर आपत्ति जनाएको छ । 

यसो भने डीएसपी बुढाथोकीले, ‘प्रहरीको नियन्त्रणमा चाहिँ होइन । अस्ति ६ गते एउटा गाउँमा झैँझगडा कुटपीट भएको थियो त्यही विषयमा चौकीमा पनि छलफल गराउँदा सहमति जुटेन । सहमति नजुटेपछि सोधपुछको लागि भनेर जिल्ला आउन लाग्या थे । छिरिङ तामाङ र दावा तामाङ मोटरसाइकलमा अगाडि अगाडि र प्रहरीको मोटरसाइकल पछि पछि थियो । ठ्याक्कै स्याप्रुवेशी माथि रुँघा भन्ने ठाउँमा आइसकेपछि त्यहाँबाट चाहिँ जसले मोटरसाइकल चलाइराख्या थियो दावा भन्ने गाउँकै केटा त्यसलाई चाहिँ धक्का दिएर मोटरसाइकल पनि पल्ट्यो अनि त्यहीँबाट तल भीरबाट झरेर खोलामा हाम फालेका हुन् । अहिलेसम्म फेला पारिएको छैन । खोजतलास जारी रहेको छ । दाबालाई भने नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ