arrow

मुखर्जीलाई कालो झण्डा देखाउने पक्राउ : सूचना प्रवाहमा प्रहरीको बदनियत कि कमजोरी ?

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Nepal-police_HQ.jpeg
काठमाडौं । नेपाल भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आउनुभन्दा केही समय अगाडि प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेनगेटबाट कालो झण्डा देखाउने तयारीमा रहेको आरोपमा ग्रेटर नेपालका संयोजक सहित आधा दर्जन मानिसलाई पक्राउ गर्यो‍ । विमानस्थलको गोल्डेनगेट नजिकै झण्डै आधा दर्जन विरोधको तयारीमा रहेका मानिस पक्राउ गरेको जानकारी मुखर्जी शीतलनिवास पुगिसकेपछि हल्लाको रूपमा सार्वजनिक भयो । 
 
यसरी कालोझण्डा देखाउनेलाई पक्राउ गर्नु प्रहरीको उत्कृष्ट काम हो भन्न सकिन्छ । तर, यो पक्राउ परेको झण्डै ३ घण्टासम्मपनि प्रहरीले गुपचुप राखेको छ । हामीले यसरी विरोध गर्नखोज्ने पक्राउ परेको थाहापाएपछि सबैभन्दा पहिले नेपाल प्रहरीका प्रवक्ता डिआईजी हेमन्त मल्ल ठकुरीलाई सम्पर्क गर्यौं‍ । यस विषयमा प्रश्न गरेपछि उनले यस विषयमा अहिलेसम्म आफूलाई जानकारी नभएको बताए । त्यतिबेला ती मानिसहरू पक्राउ परेको झण्डै ३ घण्टा वितिसकेको थियो । 
 
त्यसपछि हामीले यसै विषयमा जानकारी लिनको लागि विमानस्थल प्रहरीलाई सम्पर्क गर्‍यौं । त्यहाँ रहेका ड्यूटी अफिसरले पनि यस विषयमा आफूहरूलाई जानकारी प्राप्त नभएको जानकारी दिएर पन्छिन चाहे । हामीले पनि प्रहरीले थाहा नपाएकोृ बताएपछि एकैजनालाई दोहोर्‍याएर प्रश्न सोध्न चाहेनौं । तर हामीलाई पक्राउ परेको थाहा भईसकेकोले हामीले अझै पुष्टि गर्नको लागि भनेर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापालाई सम्पर्क गर्‍यौं । तर उनी बैठकमा रहेको जनाएपछि हामीले परिसरमा सम्पर्क गर्‍यौं । त्यहाँ रहेका एक अधिकृतले मिडिया हेर्ने प्रद्मुम्न सरलाई सम्पर्क गर्न सुझाव दिए । 
 
त्यसपछि हामीले सम्पर्क गर्यौं‍ एसपी प्रद्युम्न कार्कीलाई । उनलाई सम्पर्क गर्दा पनि उनले यस विषयमा हल्ला आफूले थाहा पाएको भएपनि आधिकारिक जानकारी प्राप्न नभएको स्पष्ट पारे । त्यसपछि हामीले पक्राउ गरेर राखिएको महानगरीय प्रहरी बृत्त कमलपोखरीमा आफ्नो स्रोत प्रयोग गरियो । स्रोतले बृत्तका डिएसपीले यस विषयमा कुनैपनि कुरा सार्वजनिक नगर्न उर्दी जारी गरेको स्पष्ट पारे । उनले ५ जना पक्राउ परेको भने सही रहेको जानकारी पनि दिए ।   हामीले कुरा के हो भनेर बुझ्न खोज्दा बृत्त कमलपोखरीका डिएसपी महेश थापालाई सम्पर्क हुन सकेन । 
 
यसरी प्रहरीको सफलताको कुरा जोडिएको काममा पनि प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गर्न नसक्नु उसको कमजोरी हो या त बदनियत भन्ने प्रश्न यो घटनापछि नेपाल प्रहरी सामु उभिएको छ । हुनसक्छ भारतीय राष्ट्रपतिको भ्रमणभरी यस्तो विरोधका घटनाहरू सार्वजनिक नगर्ने प्रहरीको भित्री योजना अनुरूप नै यस्तो गरिएको हो । तर, यस्ता गतिविधीमा संलग्नलाई कारबाही गरेको कुरा सार्वजनिक हुँदा अन्य धेरै अपराध रोकिने तर्क पनि एकाथरीको आउने गरेको छ । तर, सार्वजनिक नगर्ने कुरा उल्लेख गर्नु फरक कुरा हो । तर कुनैपनि प्रहरी अधिकारीलाई यस विषयमा थाहा नहुनु यदी साँचो हो भने यो प्रहरीको कमजोरी हो भन्न सकिन्छ । 
 
भारतीय राष्ट्रपनि नेपाल भ्रमणमा आउने पक्का भएपछि नै नेपालीहरूले भने सामाजिक सञ्जाल मार्फत् विरोधका स्वरहरू सार्वजनिक हुन थालेका छन् । सामाजिक सञ्जालमा ‘लम्पसार दिवसको शुभकामना’ जस्ता यावत शब्दहरूद्वारा यसको विरोध गरिएको छ । अहिले ट्वीटरमा भारतीय राष्टपतिलार्इ स्वागत छैन भन्नकाे लागि  #Indianpresidentnotwelcome ट्रेन्ड्स पनि चल्न थालिसकेको छ । जसमा ट्वीटेहरुले एक वर्ष अघि नाकाबन्दी गरेर जनतालाई दुख दिने भारतको राष्ट्रपति नेपाल आउँदा नेपालीहरूले नै सास्ती बेहोर्नु परेको कुरालाई विरोध गरेका छन् ।   
 
यस विषयमा हामीले कुनैपनि आपराधिक गतिविधिको शंका गरिएको छ भनेर प्रहरी प्रवक्ता मल्लसँग् पनि सम्पर्क गरेका थियौं । तर उनले यस विषयमा सामाजिक सञ््जालमा जति विरोध भएपनि कुनैपति त्यस्ता आपराधिक गतिविधिको पत्तो नपाएको भनेर प्रतिक्रिया दिएका थिए । त्यही प्रतिक्रिया दिइरहँदा उता विमानस्थल बाहिर भने प्रहरीले कालो झण्डा देखाउन लागेको आरोपमा मान्छे पक्राउ गरिसकेको थियो । 
 
पक्राउ पर्ने को–काे हुन् ?
राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा ग्रेटर नेपाल अभियानका अध्यक्ष फणीन्द्र नेपालसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालसहित राम खड्का र लोकराज जैशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट, तीलक बोहरा र योगेश बराललाई बत्तिसपुतलीस्थित गोल्डेनगेट कलेज अगाडिबाट र शारदा भुसाललाई माइतीघर मण्डलाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता ठकुरीले जानकारी दिए ।

भ्रमणका क्रममा विरोध प्रदर्शन गर्ने तयारी गरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता ठकुरीले पक्राउ परेकाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ