arrow

राति १ बजे नेपालमा पाइला टेक्दै गुटेरेस, यस्ता छन् कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
antonio_guterres-us-general-secretary.jpg

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि राति १ बजे काठमाडौँ आइपुग्दै छन् । उनी काठमाडौँ उत्रेपछि विमानस्थलको अतिविशिष्ठ कक्षमा नेपाली सेनाको काली दल गणको सम्मान गारदले सलामी दिने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर क्यूआर ६ सय ४४ मा अमेरिकाबाट दोहा हुँदै काठमाडौँ ओर्लन लागेका हुन् । 

परराष्ट्रमन्त्री एननी साउद र परराष्ट्र सचिव भरतराज पौडेलले विमानस्थल पुगेर स्वागत गर्नेछन् । उनको स्वागतमा रातो कार्पेटको व्यवस्था गरिएको छ । 

दिउँसोबाट विमानस्थलमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, विमानस्थल सुरक्षाका लागि खटिएका छन् । 

यतिबेला काठमाडौको सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । आइतबार दिउँसो गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच द्विपक्षीय भेटवार्ता हुनेछ । 

लगत्तै उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् । त्यसपछि उनले पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

आइतबारै महासचिव गुटेरस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन भ्रमणमा जाने र साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सोमबार (१३ कात्तिकका दिन) महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । 

सोलुखुम्बुबाट काठमाडौँ फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुने भएका छन् ।

सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ । कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । 

मंगलबार उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । लुम्बिनीबाट फर्केपछि मंगलबार नै अपरान्ह ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

बुधबार (१५ कात्तिक) बिहान १०ः१५ बजे महासचिव गुटेरेस संयुक्त राष्ट्र संघ मुख्यालय फर्किने कार्यक्रम छ । 

सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको संघीय संसदमा त्यसयता विदेशी राष्ट्रप्रमुख तथा विश्वव्यापी संस्थाका पदाधिकारीले सम्बोधन गरेका छैनन् । 

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ ।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ