arrow

राष्ट्रपति मुखर्जीले राष्ट्रकविसँग भन्नुभयो ‘कविजी, हाउ आर यु ?’

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Rastra-kabi-Madhav-prasad-ghimire.jpeg
काठमाडौँ  ।‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ््गीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो । 
 
कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए। नब्बे वर्ष पार गरिसकेका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे । मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे । अङ्गेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने – “आई एम फाइन, योर एक्स्लेन्सी ।” 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा बुधबार काठमाडौँ आएका हुन् । राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एक घन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदाको क्षण हो यो । 
 
राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ । तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गरेका थिए । पूर्वराष्ट्रपति नारायणन्ले विस २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गरेका थिए। 
 
भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए। “जीवनमा मलाई बडो आनन्द मिल्यो” – राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले भने । 
 
दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन थिए। भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ