arrow

नेपाल टी-२० विश्वकपमा छनोट भए नोबेल अस्पतालले १५ लाख दिने

फाइनल जितेमा थप ५ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
CAN-Nobel-Cricket.jpg

काठमाडौँ। आईसीसी टी-२० विश्वकप क्रिकेट छनोट खेलिरहेको नेपाली क्रिकेट टोलीलाई नोबेल मेडिकल कलेजले रु १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। सो पुरस्कार रकम प्राप्त गर्न आईसीसी टी-२० विश्वकप २०२४ क्रिकेटमा छनोट हुनुपर्ने छ। साथै जारी प्रतियोगिताको फाइनलमा विजेता भएमा थप पाँच लाखसमेत दिने बताएको छ।

विराटनगरस्थित मेडिकल कलेजले नेपाली क्रिकेट र खेलाडीहरूको सम्मानमा उक्त घोषणा गरेको बताएको छ। प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले नेपालको इतिहासमा नेपाल र नेपालीलाई एक जुट बनाउने कार्यमा खेलकुदको भूमिका पनि महत्त्वपूर्ण रहेको छ भन्दै उक्त कार्यको सम्मानमा पुरस्कार घोषणा गरेको हो । 

काठमाडौँमा जारी 'आईसीसी पुरुष टी-२० विश्वकप २०२४ एसिया छनोट'मा नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ। नेपाल विश्वकपमा छनोट हुनु नेपालका लागि गौरवको विषय रहेको भन्दै कलेजले नेपाली क्रिकेटको उच्च प्रशंसा गरेको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलाई कलेजका प्रमुख कार्यकारी प्रमुख डा. भोगेन्द्रप्रसाद उपाध्यायले पुरस्कार घोषणाको पत्र हस्तान्तरण गरेका थिए । 

उक्त पुरस्कार घोषणापछि 'नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य डा. सुनीलकुमार शर्माले आफू नेपाली क्रिकेटको ठूलो प्रशंसक रहेको भन्दै भने 'खेलकुद तथा युवाहरूको विकासका लागि म र मेरो संस्था सहकार्य गर्न उत्साहित छौँ। म नेपाली क्रिकेटको विकासमा लागिरहनेछु ।'

कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ - 'नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य माननीय डा. सुनीलकुमार शर्माज्यूको अगुवाइमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले आजको दिनसम्ममा खेलाडीहरूलाई उच्च सम्मानका साथ नि:शुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ भने आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै विपन्न बिरामीहरूको उपचारमा निःशुल्क, सहुलियत शुल्कमा उपचार सेवा पुर्‍याउँदै आएको छ, त्यस्तै विभिन्न स्थानहरूमा नियमित नि:शुल्क स्वास्थ्य शिविरहरूको समेत आयोजना गर्दै नै आइरहेको छ जसबाट दूरदराजमा रहेका लाखौँ जनताले स्वास्थ्य उपचार सेवा प्राप्त गर्दै आएका छन् ।'

यसैगरी कलेजले नेपाल क्रिकेट सङ्घ र खेलाडीहरूलाई अहिलेसम्म प्राप्त सफलताका लागि बधाइ दिनुका साथै आगामी दिनका लागि शुभकामना पनि प्रदान गरेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ