भारतीय राष्ट्रपतिको पशुपति दर्शन प्रसङ्गः तीन समूहले बजाउँदै छ बाजा

प्रकाशित मिति : २०७३ कार्तिक १८ बिहिबार
तस्वीर – हाम्रा कुरा
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पशुपतिनाथ दर्शनका लागि संगीतको पनि गतिलो प्रवन्ध गरिएको छ । तीन समूहले स्थानीय नेवारी संस्कृतिको धिमे तथा बाँसुरी बाजाको प्रयोग गर्दैछन् । 
 
 
दुई समूहलाई पशुपति मन्दिरको वारिपट्टी तथा एक समूहलाई पारी राखिएको छ । 
 
 
यसले काठमाडौंको स्थानीय संस्कृति पनि झल्किने दावी गरिएको छ । 
 
 
सुरक्षा व्यवस्था त यसै पनि कडा पारिएकै छ । त्यसमा पनि पशुपति क्षेत्रमा भएका बोकालाई पनि त्यहाँबाट हटाइएको छ । 
 
त्यतिमात्र होइन त्यहाँ भएका साँढेहरु पनि भगाइएको छ । पशुपति क्षेत्रमा रहेका मगन्ते जोगीहरुलाईसमेत हटाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
 
कोषले बाँदरलाई भने केही गर्न नसकेको जनाएको छ । बाँदरलाई भने सुरक्षाकर्मीले नै धपाइरहेका छन् । 
 
सुरक्षा व्यवस्था कडा पार्ने क्रममा नेपाली सेना पनि देखिएको छ । त्यसैगरी भारतीय सुरक्षाकर्मी पनि तैनाथ भएका छन् । 
 
यता, मुखर्जीले बिहान ९ बजेदेखि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भनिए पनि १० बजेदेखिमात्र सुरु हुने भएको छ । मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दैछन् ।  
 
बिहान ८ बजेदेखि नै पशुपतिनाथ क्षेत्र वरिवरि निकै शान्त वातावरण रहेको छ । पशुपति क्षेत्र वरिपरि गल्लीगल्लीमासमेत सुरक्षाकर्मी तैनाथ गरिएका छन् । 
 
सर्वसाधारणको उपस्थिति न्यून छ भने सडकमा सवारीसाधन समेत गुडेका छैनन् । 
 
दर्शनार्थीलेसमेत बिहानैदेखि पशुपतिको दर्शन गर्न पाएका छैनन् ।  
 
 
 संचारकर्मीहरुलाईसमेत निकै कडाइ गरिएको छ । 
 
पशुपतिनाथको गेटको १० मिटर अगाडि देब्रेतिर दुई ठाउँमामात्र ठाउँ तोकिएको छ । 
 
अधिकांश संचारमाध्यमका संचारकर्मी पशुपति क्षेत्र परिसरमा डेड घण्टा अगाडि नै पुगिसकेका छन् ।
 
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ । 
 
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन् । 
 
राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमे बाजा, पञ्चेबाजालगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
 स्थानीयवासी एवम् दर्शनार्थीले पशुपति परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् । 
 
यो विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । 
 
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषकातर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ । 
 
भारतीय राष्ट्राध्यक्षले १८ वर्षपछि पशुपति दर्शन गर्न लागेका हुन् । यसअघि पूर्वराष्ट्र«पति के आर नारायणन्ले विसं २०५५ जेठमा पशुपतिमा फर्माइसी पूजा गरेका थिए । 
 
पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र भन्ने गरिएको छ ।
 
राष्ट्रपति मुखर्जीले कम्तीमा एक घण्टा पशुपतिमा पूजा गर्ने पनि जनाइएको छ । 
 
नयाँ