arrow

छ महिनामा १० हजार पर्यटक पुगे मनाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Himtal-manang.jpg

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । 

यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।

यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । 

उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् । 

असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिनुभयो । 

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । “यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ”, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् ।

आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । “सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ”, उनले भने, “आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।”

अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् ।

काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत स्थानबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत यहाँ आउन सकिन्छ । पदमार्गबाट यहाँका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ