arrow

मनाङका हिमाली भेगमा हिउँ चितुवा गणना तीव्र, १२९ क्यामेरा जडान गरी अत्याधुनिक सर्वेक्षण गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
manang-chitwa.jpg

काठमाडौँ ।  हिमाली पारिस्थितिकीय प्रणालीको प्रमुख सूचक मानिने लोपोन्मुख हिउँ चितुवाको अवस्था र तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले मनाङमा विस्तृत सर्वेक्षण जारी छ। 

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले संयुक्त रूपमा विज्ञहरूको टोली परिचालन गरी क्यामेरा ट्रयापिङ प्रविधिमार्फत यो अध्ययन गरिरहेका छन्। समुद्री सतहबाट ३,२०० मिटरदेखि ५,२०० मिटरभन्दा बढी उचाइका नारफु, ङिस्याङ र भीमथाङ उपत्यकालाई तीन मुख्य क्षेत्रमा विभाजन गरी वैज्ञानिक ढङ्गले अनुगमन भइरहेको छ।

सर्वेक्षणका लागि मनाङ ब्लकलाई १४ वटा ग्रिडमा विभाजन गरिएको छ, जहाँ प्रत्येक ५×५ वर्ग किलोमिटरको क्षेत्रभित्र व्यवस्थित रूपमा क्यामेराहरू जडान गरिएका छन्। यस अभियानमा कुल १२९ वटा क्यामेरा प्रयोग गरिएको छ, जसमा ङिस्याङ उपत्यकामा ५७, नारफुमा ४३ र भीमथाङमा २९ वटा क्यामेरा रहेका छन्। 

हिउँ चितुवाको सङ्ख्या अनुमान गर्न क्यामेरा ट्रयापिङका साथै पदचिह्न, मल (स्क्याट) सङ्कलन र स्थानीय गोठालाहरूको अनुभवलाई समेत आधार बनाइएको छ। प्रारम्भिक सर्वेक्षणले यस क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या ५० भन्दा बढी हुन सक्ने अनुमान गरेको छ, यद्यपि अन्तिम तथ्याङ्क आउन भने अझै बाँकी छ।

यो सर्वेक्षण हिउँ चितुवामा मात्र सीमित नभई हिमाली ब्वाँसो, रातो स्याल, नीलो भेडा (नाउर), कस्तुरी मृग र घोरल जस्ता विविध वन्यजन्तुको अवस्था बुझ्न पनि केन्द्रित छ। 

हिउँ चितुवाको उपस्थितिले समग्र हिमाली वातावरण र पारिस्थितिकीय प्रणाली सन्तुलित रहेको सङ्केत गर्ने भएकाले यसको संरक्षणलाई भविष्यको पर्यटन र स्थानीय जीविकोपार्जनसँग समेत जोडेर हेरिएको छ। अध्ययनले मानव र वन्यजन्तुबीचको द्वन्द्व हुने मुख्य स्थानहरू पहिचान गरी सुधारिएको पशुपालन अभ्यास र सामुदायिक जागरूकता बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ