मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमाली जिल्ला मनाङका कतिपय दुर्गम मतदान केन्द्रको अनुगमन अझै हुन सकेको छैन। पटक-पटकको हिमपात र अत्यधिक चिसोका कारण विकट क्षेत्रका मतदान केन्द्रसम्म पुग्न सुरक्षा निकाय र प्रशासनलाई चुनौती थपिएको हो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार भौगोलिक विकटता र हिउँका कारण विशेष गरी नार्पाभूमि गाउँपालिकाका पाँचवटा मतदान केन्द्रको अनुगमन हुन सकेको छैन। सदरमुकाम चामेबाट हिँडेर दुई दिन लाग्ने नार्पाभूमिको नार क्षेत्रमा तीन र फू क्षेत्रमा दुईवटा केन्द्र रहेका छन्। समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै केन्द्र तथा चामे र नासोंका मतदान केन्द्रको भने अनुगमन सम्पन्न भइसकेको छ।
मौसम प्रतिकूल भएर आउजाउमा समस्या देखिएपछि ४८८ मतदाता रहेको नार्पाभूमिका मतदान केन्द्रहरूलाई अस्थायी रूपमा सदरमुकाम सार्ने विषयमा पनि स्थानीय पालिकासँग छलफल भइरहेको प्रजिअ पौड्यालले जानकारी दिए। जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले पाँचवटै वडामा मतदान केन्द्र कायम गरिएको भए पनि मौसमले साथ नदिए वैकल्पिक व्यवस्थाबारे योजना बनाइरहेको बताए।
एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा यसपटक कूल सात हजार मतदाता रहेका छन्, जसमा ३,६२३ महिला र ३,३७७ पुरुष छन्। अघिल्लो निर्वाचनको तुलनामा यसपटक २२१ मतदाता थपिएका छन्। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपाका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।