arrow

पाथीभरामा घट्यो बलि प्रथा, विकल्पमा नरिवल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
Pathibhara--devi.jpg.jpeg

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।

केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादसैँ, रामनवमी)का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे ।

अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज बिरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला यामका बेला दिनमै पाँच सयदेखि हजार–बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्ने, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

बलि चढाउँदा पशुपक्षीको रगतले रगताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा देख्न सकिन्छ । रगतका कारण हुने फोहर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

पछिल्लो समय प्राणीको हत्या नगरी धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा कम हुँदै गएको हो । प्रेम, सद्भाव र पुण्यको सन्देश दिने धर्मका नाममा हुने बलिप्रथा पूर्णरूपले निर्मूल हुनु नै राम्रो हुने भक्तजनको भनाइ छ । धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने समाजमा आवाज उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने कतिपयले बताउने गरेका छन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ