arrow

२०८२ मै कांग्रेसको १५ औँ महाधिवेशन गर्ने गरी क्यालेन्डर बनाउनुपर्नेमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
ajayababu-shiwakoti-2080-07-16.jpg

झापा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी दुई वर्षमै गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीको सुदृढीकरणका लागि १५ औँ महाधिवेशन २०८२ सालमै गर्नुपर्नेमा जोड दिइएको हो । 

झापाको बिर्तामोडमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्यहरुले कार्यकर्ताको जिज्ञासा र चिन्ताप्रति आश्वस्त पार्दै पार्टीको तत्कालै हुन लागेको महासमिति बैठकको निर्णय महत्वपूर्ण हुने बताएका हुन् ।

कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले वडातहदेखि संघीय सरकारमासमेत पार्टी सत्तामा रहे पनि कार्यकर्तामा निराशा देखिएको बताउँदै पार्टीले उठाएका उम्मेद्वारलाई भोट हालेर बसेका कार्यकर्ताहरुले पार्टी कसरी चल्छ भन्ने चिन्ताले निराशा देखिएको बताइन् । 

सांसद गौतमले भनिन्, ‘‘पार्टीलाई भोट हालेका छन्, उनीहरुलाई केही चाहिएको छैन, तर पार्टी कसरी चल्छ भन्ने चिन्ता छ । निराशाहरु धेरै छन् । असन्तुष्टिहरु छन् । निराशाको समाधान महासमिति बैठकले पार्टीलाई सही ट्रयाकमा ल्याउँछ कि आशा गरौँ ।’

त्यस्तै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीका केन्द्रीय विभागहरु औचित्यहीन बन्दै गएको भन्दै विभागहरुलाई ‘फाली खुस्किएको हलो’ को संज्ञा दिए । विभागहरुलाई स्मार्ट खालको बनाएर छिटो छिटो पूर्णता दिनुपर्नेमा सभापतिले नै अड्काएर राखेको आरोप लगाउँदै उनले भने, ‘भ्रातृसंगठनभित्र स्मार्ट समिति बनाइदिएको भए काम गर्न त सक्थ्यो, मिटिङ बस्न पार्टी हल खोज्नुपर्छ समितिले पूर्णता पाएको छैन ।’

उनले २०८२ को मंसिरमा पार्टीको महाधिवेशन हुन नसके पुरानो पार्टीका नाममा आउने पुस्ताले सबैभन्दा बढी पीडा खेप्नुपर्ने अवस्था आउने बताउँदै भने, ‘त्यसैले अब बस्ने महासमिति सदस्यले २०८२ मा महाधिवेशनको क्यालेण्डर तय गर्नसक्नु पर्छ । तब मात्रै त्यो पछि हुने निर्वाचनमा पार्टीले केही गर्नसक्छ ।’

उनले अहिलेको कांग्रेसको आन्तरिक द्वन्द्व २०२६ सालमा बीपी कोइरालामाथि भएको आक्रमणकै पुनरावृत्ति भएकोसमेत टिप्पणी गरे । अन्तरक्रियामा सांसद कुसुम थापामगर, संविधान सभा सदस्य प्रकाश स्नेही र मनोजमणि आचार्य लगायतले विचार राखेका थिए । 

नेपाली कांग्रेस बिर्तामोड नगरसभापति भोजराज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमको सहजीकरण प्रदेश सभापति लक्ष्मी आचार्यले गरेका थिए ।

कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने मिति तय गरेको छ । 

तर अहिलेसम्म केही जिल्लामा महासमिति निर्वाचन हुनै बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ