- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएपछि पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरेको छ ।
कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माका अनुसार पश्चिममा ठूलो जनधनको क्षति भएकाले यो शोकको घडीमा सार्वजनिक कार्यक्रमहरु स्थगित गरेर जाजरकोट र रुकुममा होमिने निर्णय गरिएको जानकारी दिए ।
उनीहरुले पश्चिममा भएका कांग्रेसका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा खटिने र यहाँ भएका नेताहरुले सरकारलाई यथोचित व्यवस्था गर्नका लागि दबाब दिने निर्णय गरिएको पनि बताए ।
शर्माले पीडितको राहत तथा उद्दारका लागि सरकारलाई कांग्रेसको बचत कोषबाट झिकेर ५० लाख रुपैयाँ उपलब्ध गराएको पनि बताए ।
कांग्रेसले ५० लाख कहाँबाट ल्यायो भनेर सामाजिक संजालमा चर्चा भइरहेका बेला थापाले सक्रिय कार्यकर्ताले जम्मा गरेको पार्टीको संरक्षित कोषबाट रकम सरकारलाई दिइएको बताए ।
कांग्रेसले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा गएराति आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपीलसमेत गरिसकेको छ ।
यसै सन्दर्भमा पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको हो । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्न–गराउन पनि कांग्रेसले निर्देश गरेको छ ।
पार्टीको बैठकका थप निर्णय आइतबार बस्ने बैठकले गर्ने महामन्त्री शर्माले जानकारी दिए ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको भएता पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने बताए ।