arrow

भूकम्पको राहत, उद्धार र व्यवस्थापनबारे विपद् परिषदको बैठक, मन्त्रिपरिषदले विशेष निर्णय गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
earthquake-j-2080-07-18u.jpg

काठमाडौँ । विनाशकारी भूकम्पबाट दुई जिल्ला प्रभावित हुँदा ठूलो जनधनको क्षति भएपछि अहिले बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्न लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमा अहिले बिहान विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायण भट्टराईले जानकारी दिए ।  

जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पले रुकुम पश्चिम, दैलेखसम्म प्रभावित पारेको छ ।  त्यसको प्रभाव, अवस्था र आगामी कार्य योजना तय गर्नका लागि दुई उपप्रधानमन्त्री एवं सबै मन्त्री सदस्य रहने परिषद्को बैठक आह्वान गरिएको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त सदस्य सचिव धुब्रबहादुर खड्काले शनिबार राति जारी गरेको विज्ञप्ति अनुसार बैठकमा जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पको राहत, उद्धार र अवस्थाबारे, छलफल गरिने छ । 

बैठकमा प्रभावितको पहिचान र पुर्नस्थापनबारे तथा खोज उद्धार एवम राहतका सम्बन्धमा स्रोत व्यवस्थापनबारे पनि छलफल हुनेछ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा तीनको व्यवस्था अनुसार विपदु व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहने व्यवस्था छ ।

समितिको सदस्यमा सबै मन्त्री, प्रतिनिधि सभाको विपक्षी दलको नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधान सेनापती, गृह मन्त्रालयका सचिव रहेको व्यवस्था छ । 

यस्तै विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिमध्येबाट कम्तीमा एक जना महिलासहित परिषद्बाट मनोनित तीन जना सदस्य रहने व्यवस्था छ भने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले उद्धार, उपचार र राहत अहिलेको मुख्य नीति भएकाले यसमा सबै जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो । 

बैठकले मुख्य केन्द्र सुर्खेत र उपकेन्द्र नेपालगंजलाई तोकेर जनशक्ति परिचालन र राहतका काम एकद्वार प्रणालीका साथ अघि बढाउने निर्णय गरेको थियो । तीन तहका सरकारबीच समन्वयका साथ उद्धार, उपचार र राहतका काम भइरहेको अवस्थामा प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बैठकले मूख्यगरी स्रोत पहिचान गर्ने र त्यसको परिचालन गर्ने विषयमा ठोस निर्णय गर्नेछ । 

शनिबार प्रदेश सरकार, राजनीतिक दल तथा संघ संस्था र संगठनहरुले सरकारी राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गसिकेका छन् । अहिले बिहान नै मन्त्रिपरिषदको बैठक बसेर विशेष निर्णय गर्ने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ