- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिए ।
“मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्,” उनले भने, “हप्ताँै लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।”
सरकारले गण्डकी प्रदेशको मनाङ-मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा-मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो ।
करिब रु २० करोडको लगानीमा ५६ दशमलब पाँच किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
गत वर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो ।
चालु आवमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु दुई करोड बजेट छुट्याएको थियो ।
मुस्ताङ-डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनीयरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा भौगोलिक रुपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको हो ।
एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पु¥याइएको छ ।
डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघिनै सडक निर्माण गरिएको थियो ।
उक्त सडकलाई आव २०७६/७७ मा रु ११ करोड तथा आव २०७५/७६ मा रु चार करोड बजेट विनियोजन गरिएको थियो ।
मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए ।
डोल्पा जोड्ने सडकको प्रवेश विन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । रासस