arrow

घुर्क्याउन माओवादीले गर्ने भनेको सडक संघर्षको कार्यक्रम स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
maoist-centre-prachanda-narayankajii-mahara-agni-dev-cp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आफैँ सरकारमा रहेर आन्दोलनको घोषणा गरेको सत्तारुढ नेकपा माओवादी केन्द्रले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले सो कार्यक्रम स्थगित गरेको हो । 

माओवादीले मंसिर २२ मा सडक संघर्षको कार्यक्रम तय गरेको थियो । गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित भएको माओवादीले जनाएको छ । 

माओवादीले आफैँ सरकारको नेतृत्व गर्दै आएको अवस्थामा सडक संघर्षको कार्यक्रम घोषणा गरेको थियो । जनपरिचालनको नाममा सडक संघर्ष गर्ने निर्णय सहितको आन्तरिक निर्देशन गएको थियो । 

अन्तरपार्टी सर्कुलर जारी गर्दै काठमाडौँमा जनपरिचालन र खबरदारी सभा गर्ने केन्द्रीय सदस्यहरूलाई जानकारी दिएको छ । उसले सर्कुलरमा ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण र प्रतिगमनको विरोधका लागि सडक संघर्ष गर्नुपरेको’ जनाएको छ।  प्रतिगामी शक्तिबाट लोकतन्त्र नै खतरामा परेको माओवादीको निष्कर्ष छ ।

माओवादी केन्द्रको सर्कुलरमा भनिएको छ, ‘पार्टीको बागमती प्रदेश, जवस सम्बद्ध उत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौँमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ ।’

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । 

सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको छ । 

माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ । माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जनसंगठन मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादी केन्द्रले यसअघि पनि धेरै पटक सरकारमा बसेर आन्दोलन र प्रदर्शन गर्ने जस्ता अनौठा गतिविधि गर्दै आएको छ । 

प्रचण्ड यसअघि नै पनि ‘प्रतिगामी तत्वबाट संविधान र लोकतान्त्रिक गणतन्त्रलाई खतरा भइरहेको’ भाषण गर्दै आएका छन् । 

सत्ता गठबन्धनमा केही खटपट देखिएपछि केही समयअघि उनले सडक तताउने धम्की दिएका थिए । गत असोज २९ गते दाहालले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने बताएका थिए ।

 ‘गठबन्धनमा केही गडबड भयो कि सडक संघर्ष गर्ने प्रचण्डको अभिव्यक्ति आउने गरेको छ, प्रचण्डको यो रोग पुरानै हो नयाँ होइन’, गठबन्धनमा सहभागी एक नेताले भने । 

ती नेताका अनुसार पूर्वराजा ज्ञानेन्द्र र राजावादी शक्तिले गरिरहेका कार्यक्रमलाई लिएर प्रमुख दलका नेताहरूले विभिन्न टिप्पणी गर्दै आएको बेला प्रचण्डले एक कदम अघि बढेर सडक संघर्षको अभिव्यक्ति दिएको वा घोषणा गरेर धक्म्याएका हुन सक्छन् । 

प्रचण्डले बेलाबखत त्यस्ता गतिविधिबाट व्यवस्थामाथि नै खतरा रहेको बताउने गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पटकपटक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ