arrow

काभ्रेपलाञ्चोकका स्थानीय तहको समीक्षा 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक २० सोमबार
kavrey-metro.jpg

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरूको त्रैमासिक समीक्षा क्षेत्रगत रूपमा गरिएको छ । विभिन्न ६ क्षेत्र (कल्ष्टर) मा विभाजन गरेर जिल्ला समन्वय समितिले ती स्थानीय तहको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको समीक्षा गराएको हो पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको त्रैमासिक समीक्षा पाँचखाल नगरपालिकामा सम्पन्न भएको छ । 

आइतबार पाँचखालमा मण्डनदेउपुर र पाँचखाल नगरपालिकाको पहिलो त्रैमासिक अवधिको समीक्षा गरेको छ। कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेले जनतासँग प्रत्यक्ष जोडिने सरकार स्थानीय तह नै भएको भन्दै स्थानीय सरकारले नतिजा दिन नसके व्यवस्था नै असफल हुने खतरा औँल्याए । 

सबै बेरुजू भ्रष्टाचार नहुने भन्दै उनले बेरुजू फच्र्यौट गर्नतर्फ भने तदारुकता दिनुपर्ने बताए । संविधान सभा सदस्य समेत रहेका वादेले संविधान निर्माण गर्ने बेला जिल्ला समन्वय समितिको औचित्यमाथि ठूलो बहस भए पनि कामले त्यसको औचित्य पुष्टि गर्ने बताए । 

मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइवाले विकास निर्माणका काम गर्दा कागजपत्र र प्रक्रियामा केही त्रुटि भएर देखिएको बेरुजू भएको तर्क गर्दै कुनै पनि जनप्रतिनिधि र कर्मचारीको नाममा बेरुजू नभएको दाबी गरे । फोनका भरमा अख्तियारमा उजुरी दर्ता हुने गरेको भन्दै उनले अख्तियार, महालेखा परीक्षकको कार्यालय आदिको सुझावकै आधारमा उपभोक्ता समिति, टोल विकास समितिमार्फत भन्दा पनि ठेक्कामार्फत काम गरिरहेको तर्क गरे । 

पाँचखाल नगर प्रमुख महेश खरेलले व्यवसायीबाट भुक्तानी लिनुपर्ने रकम पाँचखालमा बेरुजु देखिएको भन्दै पाँचखाल कम बेरुजु भएको स्थानीय तह मध्ये पर्ने बताए । महालेखाका कर्मचारी नै असुली धन्दामा रहने बताउँदै उनले ‘रक्सीको कलर, भालेको सिउर र सुत्ने ठाउँ र खाम’ले बेरुजूको अङ्क निर्धारण गर्ने बताए । 

पाँचखाल नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रथम त्रैमासिक अवधिको आन्तरिक आयतर्फको ७८ दशमलव ९४ प्रतिशत लक्ष्य हासिल गरेको बताए । उनले तहगत कानूनी अन्यौलता, घाटा बजेट, साँघुरो आन्तरिक आय, वडाहरूको भौगोलिक दुरी समस्याको रूपमा रहेको बताए । 

मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कुल आन्तरिक आयतर्फको ५ दशमलव ३४ प्रतिशत लक्ष्य हासिल गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ