arrow

पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
putali-bajey.jpg

पोखरा । नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गरेका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ । 

गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएका कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसहित बिदाइ गरेको हो । 

पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्राङ्गणमा राखिएका उनलाई अन्तिम श्रद्धासुमनका लागि उनका विद्यार्थी तथा सहपाठीको बाक्लो उपस्थिति रहेको थियो ।

कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाए । 

बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा नेपाल आएका उनको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भएको थियो ।

शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदानस्वरुप सरकारले उनलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । 
कोलिनले नेपालका धेरै जिल्लामा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेका थिए । 

कोलिनले नेपालमा पुतलीको अध्ययनसहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षणसमेत गरे । 

महानगरप्रमुख आचार्यले पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनको अतुलनीय योगदान रहेको स्मरण गरे ।

उनले भने, “नेपालको डाँडाकाँडा, भिरपाखा र पखेरा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो ।”

आफ्नो व्यक्तिगत जिन्दगी र देशसमेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाऊँ भन्ने उनको आकांक्षा अद्वितीय रहेको प्रमुख आचार्यको भनाइ छ । 

जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा हुुनुभएको उनलाई बुझ्ने र जान्नेहरुको भनाइ छ ।

स्व कोलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा लागेका थिए । 

उनकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । 

देश तथा विदेशबाट समेत सो सङ्ग्रहालको अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गरेका छन् । 

सङ्ग्रहालयमा कोलिनले सङ्कलन गर्नुभएका पाँच सय ८७ प्रकारका पुतली राखिएको छ । 

पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले  सङ्ग्रहालय व्यवस्थापन गर्दै आएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्दछ भन्ने धारणाको विकासमा स्व कोलिनले योगदान गरेको बताए । 

विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा “कोलिनको जीवन व्यतित भएको उनले स्मरण गरे ।

“कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नुपर्दछ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धि हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौँ,” कडरियाले भने ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको बताए । 

उनले भने, “नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनुमात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नुपर्दछ ।” 

कोलिन लामो समयदेखि पोखरा-१८ लामागाउँमा बस्दै आएका थिए । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखराको हरियोखर्क अस्पतालमा उपचार गरिएको थियो । 

कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । रासस



नयाँ