arrow

भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा : देव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
Dev Gurung.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताएका छन् । 

पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारले भूकम्प प्रभावितको समयमै प्रभावकारी रुपमा उद्धार सम्पन्न गरेको र अब युद्धस्तरमा राहत वितरण र पुनःस्थापनाको काम सुरु हुने जानकारी दिए । भूकम्प प्रभावितको राहत र पुनःस्थापनाको काम एकद्वार प्रणालीबाट गरिने बताए । 

महासचिव गुरुङले भने, “सरकारका अङ्ग, राजनीतिक दल र मित्र राष्ट्रहरुबाट राहतका लागि सहयोग र अनुदान दिने अभियान चलिरहेको छ । राज्यको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण सुरु गर्ने र राज्यले योजना बनाएर पुनःस्थापनाको काम अघि बढाउने निर्णय गरेका छौँ ।”

माओवादी केन्द्रले भूकम्पपीडितका लागि पार्टी केन्द्रबाट रु ५० लाख सहयोग गर्ने र प्रत्येक प्रदेश समितिबाट रु एक लाखका दरले सहयोगका लागि आग्रह गरिएको महासचिव गुरुङले जानकारी दिए । 

वर्तमान सत्ता गठबन्धन र सरकारका विषयमा विभिन्न आशङ्का उत्पन्न गराउन खोजिए पनि सरकार सुरक्षित रहेको उनले बताए ।

सरकार र गठबन्धन टुटाउँदै अस्थिरता उत्पन्न गराउने प्रयास असफल भएको महासचिव गुरुङले बताए । 

कोशी प्रदेशमा अस्थिरताको बाटो खोजिए पनि केन्द्रको गठबन्धन कायम राखेर जाने निर्णयले स्थिरता कायम गर्ने गुरुङको भनाइ छ । 

गुरुङले भने, “कोशी प्रदेशमा त्यहाँको प्रदेशसभाको अङ्कगणितलाई हेरेर अस्थिरता उत्पन्न गराउन खोजिएको थियो । पहिले त्यहाँ सरकार गठनमा समस्या भएपनि अहिले पुनः स्थिरताको बाटो सुरु भएको छ । सहमति र समझदारीबाट अघि बढेकाले अहिलेको गठबन्धन र सरकार सुरक्षित छ ।” 

“केन्द्रमा नसके पनि प्रदेशमा राष्ट्रिय सहमतिको सरकार बनाउन खोजेका थियौँ । तर त्यसमा सफलता मिलेन”, गुरुङले भने । 

महासचिव गुरुङले लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आगामी हिउँदे अधिवेशनमा संसद्मार्फत टुङ्गोमा पुग्ने बताए । टिआरसीको अन्तरवस्तुमा सबै सहमत भए पनि प्रक्रियामा अल्झाउने प्रयास गरिएको उनको भनाइ छ । 

महासचिव गुरुङले पार्टीले सञ्चालन गरिरहेको रुपान्तरण अभियानले पार्टीलाई चलायमान र गतिशील बनाएको बताए । 

“पार्टीले सुरु गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले पार्टी चलायमान बनेको छ । सङ्गठन विस्तार र सुदृढीकरणका काम भइरहेका छन् । पार्टीभित्र र बाहिर नयाँ सञ्चार भएको छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ