arrow

विपदमा हातेमालो

चौधरी फाउण्डेसनले भूकम्पबाट घरविहीनका लागि ‘ट्रान्जिसनल होम’ बनाउने

मानवीय सेवामा हातेमालो गर्न र भूकम्प प्रभावितलाई यथाशक्य चाँडो छानोमुनि फर्काउने पवित्र कार्यमा सहकार्य गर्न अध्यक्ष विनोद चौधरीको आह्वान  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
transitional-home-chaudhary.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चौधरी फाउण्डेसनले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि राहत वितरण कार्य जारी राखेको छ । चौधरी फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगी भूकम्प प्रभावितका लागि तत्काल अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको फाउण्डेसनले जनाएको छ । 

फाउण्डेसनले जाजरकोट र रुकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ । र, राहत वितरण कार्य जारी रहनेछ । 

यसैबीच जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने भएको छ । तत्कालको राहत व्यवस्थापन सँगसँगै भूकम्पले घरविहीन परिवारका लागि ‘ट्रान्जिसनल होम’हरूको अत्यन्तै खाँचो रहेको भन्दै चौधरी फाउण्डेसनले भत्किएका घरहरू पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’हरू बनाएर घरविहीन प्रभावितलाई ओतमुनि पुर्याउने लक्ष्य लिएको बताएको छ ।

स्थानीय प्रशासन, स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने पनि फाउण्डेसनले जनाएको छ । 

यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमीन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् । 

यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास लिएको चौधरी फाउण्डेसनले जनाएको छ । 

चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भने, ‘भूकम्पका कारण जाजरकोट, पश्चिम रुकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्ति पनि विलम्ब गर्नु हुदैन । यही मर्मलाई आत्मसात् गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीन बन्नु भएका महानुभावका लागि चिसोबाट जोगाउन छानो मुनि फर्काउने कामलाई पनि तीव्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’ 

मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आह्वान गरेका छन् । 

फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने सहमति भइसकेको जनाएको छ । 

मंगलबार बिहान चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको हो । 

उक्त सहमतिपछि मेयर वादीले भने– ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफैँ हाम्रो आँगनमा आइपुगेको छ । हामीबीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’ 

यसैगरी अन्य स्थानीय निकायसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम अगाडि बढाइने पनि जनाइएको छ । 

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिब तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरी हस्तान्तरण गरेको थियो । 

साथै सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरी हस्तान्तरण गरेको थियो । 

फाउण्डेसनले भनेको छ, ‘भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहज हुने विश्वास हामीले लिएका छौँ । मानवीय सेवाको यस पवित्र कार्यमा सम्वन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्त हुने विश्वास पनि हामीले लिएका छौँ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ