arrow

वैज्ञानिक ढङ्गले पुनःसंरचनाको माग गर्दै घेराउ

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
tamghas-gulmi.jpeg
तम्घास । स्थानीय तह पुनःसंरचना प्राविधिक समितिलाई वैज्ञानिक ढङ्गले स्थानीय तहको पुनःसंरचना गर्न माग गर्दै स्थानीय जनताले नाराबाजीसहित जिल्ला विकास समिति, गुल्मीको कार्यालय घेराउ गरेका छन् । 
 
जिल्लाको क्षेत्र नं १ अन्तर्गत चारवटा इलाकामध्ये इलाका नं ४ को परामर्शबिना अधिकांश गाविसको पायक नपर्ने गरी गाउँपालिका निर्धारण गर्न लागिएको आरोप लगाउँदै उनीहरुले दबावस्वरुप बिहीबार जिविसको कार्यालय घेराउ गरेका हुन् । 
 
वार्ता समन्वय र सङ्घर्ष समितिको सचिवालय इलाका नं ४ को आयोजनामा गरिएको उक्त घेराउ कार्यक्रममा ‘अवैज्ञानिक सीमाङ्कन प्रस्ताव खारेज गर, कथित कार्यदलको खेस्रा खारेज गर, अवैज्ञानिक सीमाङ्कन प्रस्ताव मान्दैनौँ लगायतका नारा लेखिएका पर्चा छातीमा टाँसेर कार्यालय परिसरभित्र धर्नामा उत्रिएका हुन् । 
 
उनीहरुले सर्वदलीय समितिले लिखितरुपमा आफ्ना मागमा प्रतिबद्धता नजनाएसम्म आफूहरुको धर्ना र आन्दोलन जारी रहने भन्दै यदि उक्त मागप्रति कुनै बेवास्ता गरिएको खण्डमा आन्दोलन अझ सशक्त रुपमा अघि बढ्नेसमेत चेतावती दिएका छन् । 
 
उनीहरुले इलाका नं ४ अन्तर्गत रुपाकोट, तुराङ्ग, आँपचौर, कुर्घा, दिब्रुङ्ग, अर्लाङ्गकोट, र नजिकका इलाकाका गाविसको अनुकूलता र चाहनाअनुसार आधारको ख्याल गरेर न्यायपूर्ण ढङ्गबाट इलाका नं ४ भित्रै गाउँपालिकाको केन्द्रसमेत तोक्न आग्रह गर्दै जिल्लास्थित राजनीतिक दलका प्रमुखको रोहवरमा जिविसका निमित्त स्थानीय विकास अधिकारी सरोजकुमार पोख्रेलसँग मागपत्र पनि पेस गरेका छन् । 
 
 
जिल्लामा स्थानीय तह प्राविधिक सहयोग समितिले राजनीतिक दलको परामर्शमा दुई नगरपालिकासहित दश गाउँपालिकाको पुनःसंरचनाको अन्तिम टुङ्गो लगाउने गृहकार्य भइरहेको भए पनि प्राविधिक समितिले भने उक्त निर्णयको अन्तिम टुङ्गो भने लागिनसकेको बताएको छ । 
 
स्थानीयस्तरबाट पुनःसंरचनाको विषयमा धर्ना र विरोध हुन थालेपछि जिविसमा प्राविधिक सहयोग समितिसहित राजनीतिक दलको सर्वदलीय बैठक चलिरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ