arrow

व्यापार सन्तुलन मिलाउन लगानी साझेदारीका लागि कोरियाली लगानीकर्ताहरूसँग अध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
chandra-dhakal-south-korea-nrn-invester-meet.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन्।

आज काठमाडौँमा आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताएका हुन्।

अध्यक्ष ढकालले  ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी  गरी मुख्य  चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए। यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विन विनको अवस्था सृजना हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

नेपालमा ठुलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ। यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र  नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा पनि अध्यक्ष ढकालले जोड दिए।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न  पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए।

केही नेपाली बैङ्क कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे। औपचारिक र सहज बैङ्किङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र  नयाँ नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे।

कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने अध्यक्ष ढकालले बताए।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासङ्घले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ