arrow

सेवा प्रवाह र शान्ति सुरक्षाबारे स्थानीय तहमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
Cdo Kabhare.jpg

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहमा सेवा प्रवाह र शान्तिसुरक्षाका विषयमा छलफल थालेको छ । 

जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । 

पनौती नगरपलिकामा मङ्गलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तह र प्रशासन कार्यालयबीचको सहकार्य र समन्वयमा सूचना संयन्त्र प्रभावकारी बनाउने, स्थानीय तहबाट गरिने सिफारिसमा एकरुपता कायम गर्ने, नागरिकता प्रदान गर्ने सम्बन्धमा भएका द्विविधालाई हटाउने र शान्तिसुरक्षा कामय गरी अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले छलफल गरिएको जानकारी दिए । 

उनले जिल्लाका अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा यसलाई लैजाने बताए । 

“जिल्लाको १३ वटा तहको एक सय ३५ वडाका जनप्रतिनिधिसँग नागरिकतालगायत स्थानीय तहबाट हुने सेवा प्रवाह, सिफारिस तथा शान्तिसुरक्षाका बारेमा अन्तरक्रिया गर्दै जानेछौँ”, शर्माले भने । 

उनका अनुसार नागरिकले स्थानीय तहबाट ल्याउने सिफारिसबाट जिल्ला प्रशासन कार्यालयले दिने सेवामा असुविधा हुन नपाओस्, सिफारिस गर्दा नागरिकलाई हुन सक्ने असहजताको समाधानका लागि अन्तरक्रियाको आवश्यकता देखिएको हो । 

दोहोरो नागरिकता लिने, वंशज तथा अन्य प्रकृतिको नागरिकता लिँदा विवरण झुटो बनाउन सक्ने भएकाले स्थानीय तहबाट सिफारिस हुँदा वडाअध्यक्षहरु सचेत रहनुपर्नेमा शर्माले जोड दिए । 

कार्यक्रममा प्रशासनबाट हुने सेवा प्रवाहमा नागरिकका गुनासा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा अन्य विषयका बारेमा जानकारी गराइएको उनले बताए । 

पनौती नगरप्रमुख रामशरण भण्डारीले कानुन बनाउने अधिकार स्थानीय तहमा भए पनि त्यसको कार्यान्वयन जिल्ला प्रशासनले गर्ने भन्दै स्थानीय तह र प्रशासनबीचको सहकार्यले सेवा थप प्रभावकारी हुने बताए । 

नगर उपप्रमुख गीता बञ्जाराले नागरिकले प्रशासनबाट पाउने सेवालाई अझै सहजीकरण र सरलीकरण गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहबाट गरिने सिफारिस स्वार्थरहित हुनुपर्नेमा जोड दिइन् । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले पनौती नगरको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी दिँदै अपराधलगायत जुवातास नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको बताए । 

छलफलमा नगरका वडाध्यक्षले नागरिकता सिफारिस गर्दाका व्यावहारिक कठिनाइका विषयमा प्रश्न गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता सिफारिस र प्राप्तिका विभिन्न पक्षबारे प्रस्तुति गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ