arrow

मुखर्जी जानकी मन्दिरमा पूजा गर्ने तेस्रो भारतीय राष्ट्रपति

जानकी र भगवान रामका मूर्तिको विशेष पूजा

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
mukharji-janaki-puja.jpeg

जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

भारतीय राष्ट्रपतिबाट जानकी मन्दिरमा भएको यो तेस्रो पूजा हो भने मुखर्जी तेस्रो राष्ट्रपति । यसअघि भारतीय राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले जानकी मन्दिरमा पूजाअर्चना गरे ।

मुगल ,हिन्दू र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर यो मन्दिर प्रख्यात छ ।

सो मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाले घेरिएको छ । सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् ।

मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक रहेको छ, भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीनवटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना– ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर तथा प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ ।

मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा विसं १९६७ माघ २८ मा निर्माण गराएकी थिइन् ।

मन्दिरको निर्माणमा त्यस बेलाको ब्रिटिस महारानीका चाँदीका सिक्का तीन –चारलाख खर्च भएको भनिए पनि मन्दिर बनाउन सुरूमा नौलाख सङ्कल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा १५ लाख खर्च र बाह् वर्ष लागेको बताइन्छ ।

मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको देखिन्छ ।

भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजाअर्चना गरे ।

राष्ट्रपति मुखर्जीले सो मन्दिरमा रहेका प्राचीन मूर्तिको पनि पूजा गरे । यसअघि भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गरे ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर विमानस्थलबाट जानकी मन्दिर र जानकी मन्दिरबाट अभिनन्दनस्थल तिरहुतिया गाछी पुग्दा सडक किनारमा उभिएका सर्वसाधारण नागरिक र विद्यार्थीले पनि स्वागत गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ