arrow

कम्युनिष्ट साँठगाँठ

एमाले र माओवादीबाट सीपीसीका नेताको भब्य स्वागत, माधव नेपाल चीनमै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
prachanda-wang-jungjheng-ti.jpg

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीहरुले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी), तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङलाई काठमाडौँमा भव्य स्वागत गरेका छन् । 

सरकारमा रहेको नेकपा माओवादी केन्द्र र  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनीहरु नेपालमा रहँदासम्म भव्य स्वागत गरेका हुन् । गत बुधबार भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामग्री लिएर नेपाल आएको सो टोलीले सरकारी कम्युनिष्ट पार्टीको भव्य स्वागत पाएको लगत्तै प्रमुख प्रतिपक्षी दलले पनि रात्री भोजसहितको स्वागत र सम्मान गरेको हो । 

गत बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाको दुई ओटा एयरक्राफ्टमार्फत आएका राहत सामग्री  बुझ्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ पुगेका थिए ।

त्यहाँ चिनियाँ राजदूत छन् सङ पनि उपस्थित भएका थिए । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामग्री  उपप्रधानमन्त्री श्रेष्ठले बुझेका थिए ।  

दुई ओटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ । केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको थियो ।

जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सयवटा महामारी रोक्ने स्पेयर र साढे १० हजारवटा लामखुट्टे मार्ने औषधि पठाएको थियो । 

सो सामग्री ल्याएर आएको सीपीसीको टोली काठमाडौँबाट पोखरासमेत भ्रमणमा गएको थियो । त्यसअघि माओवादीको पार्टी कार्यालयमा पुगेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईसमेत भेटघाट गरेको थियो । 

सीपीसीको तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ नेतृत्वको ११ सदस्यीय प्रतिनिधि मण्डलको टोलीले एमालेका नेताहरुसँग पनि भेटघाट गरेको थियो । 

त्यसपछि एमालेले उनीहरुको शनिबार साँझ सम्मानमा रात्री भोज आयोजना गरेको थियो । गौशालास्थित द्वारिका होटलमा एमालेले रात्री भोज आयोजना गरेको हो । 

रात्रीभोजमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहाचिव विष्णु रिमाल तथा अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सहभागी रहेका थिए । 

रात्री भोजमा समसामयिक राजनीति, नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विषयमा कुराकानी भइरहेको एमाले निकट स्रोतले जनाएको छ ।

शनिबार नै चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी तिब्बतका सचिव वाङ छुङछेङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए ।

यसअघि नै राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरिसकेका थिए ।  

उता नेकपा एकीकृत समाजवादीका अध्यष माधवकुमार नेपाल नेतृत्वको एउटा टोली भने यतिबेला चीन भ्रमणमा रहेको छ । गत साता चीन गएको हो । 

नेपालमा भूकम्पले कर्णालीका दुई जिल्ला तहसनहस पार्दा उनीहरु भने चीनतिर लागेका थिए । भ्रमण टोलीमा पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधीर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत छन् । 

जाजरकोट भूकम्पका पीडितहरूका लागि राहतस्वरुप पार्टीले छुट्याएको २५ लाख रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेर अध्यक्ष नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको थियो। 

भ्रमण टोली मंगलबार स्वदेश फर्कने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ